चीतवन , नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षको लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान उपाध्यक्ष भीम रावलबीच प्रतिस्पर्धा भएको छ ।

सर्वसम्मत अध्यक्षको लागि प्रयास गरे पनि रावलले अस्वीकार गरेपछि ओली रावलसँग प्रतिस्पर्धा गर्न बाध्य हुनुभएको हो । आज चुनावी प्रक्रिया सुरु भएलगत्तै रावलले अध्यक्षमा उम्मेदवारी दिनुभएको थियो । त्यसपछि ओलीले पनि अध्यक्षमा उम्मेदवारी दिनुभएको हो ।

ओलीको प्रस्तावकमा विष्णु पौडेल र समर्थकमा शङ्कर पोखरेल रहनुभएको छ । गएराति मध्यरातसम्म सहमतिको कोसिस गरे पनि लोकतान्त्रिक प्रक्रियाभन्दा बाहिर गएर भएको निर्णयमा आफ्नो असहमति रहने भन्दै रावलले विधि र प्रक्रियाको कुरा उठाएपछि ओलीको सर्वसम्मत बन्ने प्रयासमा धक्का लागेको छ ।

सर्वसम्मतिको प्रयास भएकाले हिजै हुनुपर्ने चुनावी प्रक्रिया आज बिहान सुरु भएको हो । संशोधित तालिकाअनुसार उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन बिहान ११ बजेर ४० मिनेटमा हुने भनिएको छ । यस्तै आज बेलुकी ९ बजेदेखि भोलि बिहान ३ बजेसम्म मतदान हुनेछ ।

यसअघि ओलीले गएराति बन्द सत्रमा ३०१ जना केन्द्रीय सदस्य र पदाधिकारीको सूची पेस गर्नुभएको थियो । तर प्रस्तावित सूचीमा नपरेका नेताहरुले उम्मेदवारी दिएका छन् । सहमति नभएका अध्यक्षसहित सबै पदमा चुनाव हुनेछ ।

गएको शुक्रवारदेखि चितवनमा सुरु भएको एमालेको दशौँ राष्ट्रिय महाधिवेशन हिजै सकिने कार्यतालिका भए पनि सहमतिको प्रयास हुँदा लम्बिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here