काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आफ्नो पदबाट हटाइएको निर्णयविरुद्ध दायर गरेको रिट निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।
कार्कीको रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय हरि फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा पेसी तोकिएको हो। उक्त मुद्दा इजलासको ‘ख’ नम्बरमा परेको छ।
सरकारले आईजीपी पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गरेपछि कार्कीले उक्त निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
यसअघि रिटमाथि पहिलो सुनुवाइ गर्दै न्यायाधीश श्रीकान्त पौडेलको इजलासले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो। साथै, अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा निर्णय लिन दुवै पक्षलाई छलफलका लागि बोलाउने आदेश दिएको थियो।
सर्वोच्चले उक्त मुद्दालाई विशेष अग्राधिकार दिँदै मंसिर ७ गतेका लागि पेसी तोकेको थियो। सोहीअनुसार आज रिटमाथि सुनुवाइ हुन लागेको हो।
गत कात्तिक १८ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा गर्ने निर्णय गरेको थियो। उनको स्थानमा डा. मनोजकुमार केसीलाई नयाँ आईजीपी नियुक्त गरिएको थियो।
सरकारको उक्त निर्णयलाई चुनौती दिँदै कार्की न्यायिक उपचारका लागि सर्वोच्च अदालत पुगेका हुन्।
















