काठमाण्डौ – २० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलमा भुटानले माल्दिभ्सलाई हराएको छ ।
ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्स मैदानमा बिहीवार भएको खेलमा भुटानले माल्दिभ्सलाई २–१ गोलको अन्तरले हरायो । भुटानका लागि खेलको २१औं मिनेटमा दोर्जी र ९०औं मिनेटमा चोपालले गोल गरे । माल्दिभ्सका फिरकले खेलको ५३औं मिनेटमा एक गोल फर्काए ।

यो जीतसँगै भुटानले समूह ‘बी’ मा तीन अङ्क जोड्दै सेमिफाइनल पुग्ने सम्भावना कायमै राखेको छ । भुटान पहिलो खेलमा भारतसँग पराजित भएको थियो । अब आगामी शुक्रवार हुने भारत र माल्दिभ्सबीचको खेलबाट समूह ‘बी’ बाट सेमिफाइनलमा पुग्ने टोलीको टुङ्गो लाग्नेछ ।

यस्तै प्रतियोगितामा बिहीवार समूह ‘ए’ का नेपाल र बङ्गलादेश खेल्दैछन् । नेपाल र बङ्गलादेश दुवै टोली सेमिफाइनलमा पुगिसकेका छन् । बिहीवारको खेलबाट यो समूहको विजेता र उपविजेताको टुङ्गो लाग्नेछ । यो समूहको श्रीलङ्का पहिलो खेलमा नेपालसँग र दोस्रो खेलमा बङ्गलादेशसँग पराजित हुँदै बाहिरिइसकेको छ ।

Leave a Reply