काठमाडौँ । नेकपा ९एमाले० को दुईदिने राष्ट्रिय कार्यकर्ता भेला २१ बुँदे संकल्प प्रस्ताव पारित गर्दै बिहीबार सम्पन्न भएको छ। आगामी निर्वाचनमा पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्ने र सरकारका गतिविधिविरुद्ध आन्दोलनका लागि तयार रहने प्रतिबद्धतासहित भेला टुंगिएको हो।

बुधबारदेखि सुरु भएको भेलामा पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता विद्यादेवी भण्डारी तथा उपाध्यक्षद्वय रामबहादुर थापा ‘बादल’ र विष्णुप्रसाद पौडेलले विभिन्न कार्यपत्र प्रस्तुत गर्नुका साथै सहभागीलाई प्रशिक्षण दिएका थिए।

भेलामा करिब ३ हजार ४१४ प्रतिनिधिको सहभागिता रहेको थियो। समसामयिक राजनीतिक तथा सांगठनिक विषय समेटिएको २१ बुँदे संकल्प प्रस्ताव पूर्वउपमहासचिव प्रदीप ज्ञवालीले अनुमोदनका लागि प्रस्तुत गरेका थिए। भेलाले उक्त प्रस्ताव पारित गरेको हो।

पारित संकल्प प्रस्तावलाई पार्टीको प्रचार विभागले एकीकृत गरी सार्वजनिक गर्ने तयारी गरेको जनाइएको छ।

भेलाको समापन गर्दै अध्यक्ष ओलीले आगामी निर्वाचनलाई लक्षित गरी सबै नेता तथा कार्यकर्तालाई एकताबद्ध भएर पार्टीको पक्षमा परिचालित हुन निर्देशन दिएका थिए।

राष्ट्रिय भेला सम्पन्न भएपछि सहभागीहरूका लागि भोजनको व्यवस्था गरिएको थियो। त्यसपछि केन्द्रीय कमिटी बैठक सुरु हुने प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिएका थिए।

केन्द्रीय कमिटी बैठकमा बाँकी रहेका केही नेताहरूको कार्यविभाजनलगायत सांगठनिक विषयमा छलफल हुने बताइएको छ।

Leave a Reply