वीरगञ्ज,वीरगञ्ज महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नियुक्ति विवाद लम्बिँदा कर्मचारीहरू तीन महिनादेखि तलबविहीन बनेका छन् । प्रशासनिक नेतृत्व रिक्त हुँदा महानगरको दैनिक सेवा प्रवाहदेखि विकास निर्माणका कामसमेत प्रभावित भएका छन् ।महानगरका कर्मचारीहरूका अनुसार २०८२ फागुनयता तलब निकासा हुन सकेको छैन ।महानगर कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था तथा विभिन्न शाखामा कार्यरत कर्मचारीहरूले नियमित रूपमा काम गरिरहे पनि तलब नपाउँदा आर्थिक संकट झेल्नुपरेको बताएका छन् ।
संघीय सरकारले रेशमलाल कँडेललाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाउने निर्णय गरे पनि उहाँ हालसम्म कार्यालयमा हाजिर नभएको जनाइएको छ । यसअघि निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका अरविन्दलाल कर्णको अधिकार कटौती भएपछि आर्थिक तथा प्रशासनिक प्रक्रिया प्रभावित बनेको कर्मचारीहरूको भनाई छ ।तलब नपाउँदा घरखर्च चलाउन, बालबालिकाको विद्यालय शुल्क तिर्न तथा दैनिक आवश्यकता पूरा गर्न समस्या भएको कर्मचारीहरूले बताएका छन् । यता विकास योजनामा संलग्न निर्माण व्यवसायीहरूले पनि भुक्तानी रोकिँदा पूर्वाधार निर्माणका काम सुस्त बनेको बताएका छन् ।
महानगर प्रमुख राजेशमान सिंहले संघीय सरकारले स्थानीय तहसँग समन्वय नगरी निर्णय थोपर्ने प्रवृत्ति दोहोरिएको आरोप लगाउनुभएको छ । उहाँले मन्त्रालयसँग पुनर्विचारका लागि पत्राचार गरिए पनि हालसम्म समाधान ननिस्किएको बताउनुभयो ।प्रमुख प्रशासकीय अधिकृत नियुक्तिको विषयमा देखिएको ढिलाइले स्थानीय सेवा प्रवाहमा प्रत्यक्ष असर परेको भन्दै स्थानीयवासीले संघीय सरकार र स्थानीय तहबीच प्रभावकारी समन्वयको माग गरेका छन् ।


















