पुष्पराज खतिवडा
मनहर्वा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ मा रहेको सानाकिसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाले कृषकहरुलाई दुधको केन वितरण गरेको छ । बुधवार कलैया उपमहानगपालिका वडा नम्बर १६ का अध्यक्ष शेषनाथ साहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्थानीय चिस्यान केन्द्रमा दुध बिक्री गर्ने कृषकहरुलाई ५ लिटरका ७५ थान स्टील केन वितरण गरिएको हो ।वडा कार्यालयले एक लाख रुपैंयामा खरिद गरेका केन सिहकारी संस्थामार्फत दुध उत्पादक कृषकहरुलाई वितरण गरिएको वडा अध्यक्ष साहले बताउनुभयो ।कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष साहले कृषकका लागि दुध उत्पादन आम्दानीको राम्रो र उत्कृष्ट व्यवसाय भएको बताउनुभयो । व्यवसायिक ढंगबाट गरिने दुधको व्यवसायबाट मनग्य आम्दानी गर्न सकिने हुँदा दुध व्यवसायमा लाग्न सहभागीलाई प्रोत्साहित गर्नुभयो ।कलैया उपमहानगरपालिका वडा नम्बर १६ मा रहेको सहकारी संस्थाको दुध संकलन केन्द्रमा आवद्ध कृषकलाई केन वितरण गरिएको हो । संस्थाले ३ वर्षअघि चिस्यान केन्द्र संचालनमा ल्याएको थियो ।दैनिक ६ सय लिटर दुध संकलन हुँदै आएको संकलन केन्द्रमा १ सय ५० जनाभन्दा बढी कृषकले दुध बिक्री गर्दैआएका छन् । केनको अभावमा यहाँका किसानले प्लास्टिकका ग्यालिन र बोतलहरुमा असुरिक्षत ढंगले दुध बोक्ने गरेका थिए । सहकारीले वितरण गरेको केन सबै किसानलाई नपुगे पनि पाउने किसानहरुको लागि सहज भएको चिस्यान केन्द्रका संयोजक रोशा खातुनले बताउनुभयो ।साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाकी अध्यक्ष नयनकला खड्काको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका मुख्य प्रबन्धक पुष्पराज खतिवडा, वडा नम्बर १६ का वडा समिति सदस्य ओमप्रकाश यादव, रामपती देवी राम, शिला देवी कुर्मी, चिस्यान केन्द्र व्यवस्थापन समितिका सदस्य गोरखप्रसाद यादव, प्रेम महरा, संकलक मनोज पटेल, राजु पटेल लगायतको उपस्थिति रहेको थियो ।



















