कलैया,कारबाहीको क्रममा जिल्ला प्रहरी कार्यालय बारा मातहतसमेतबाट खटिएको प्रहरी टोलीले लुकिछिपी बसेको अवस्थामा ३ जना फरार प्रतिवादीलाई आइतवार पक्राउ गरेको छ ।ईलाका प्रहरी कार्यालय कोल्हबी, प्रहरी चौकी मुसहर्वा र अस्थायी प्रहरी पोष्ट चरमोहना, बाराबाट खटेको टोलीले कोल्हबी नगरपालिका वडा नम्बर २ बगेवा टोल बस्ने अन्दाजी २४ को मुकेश माझी, बिश्रामपुर गाउँपालिका वडा नम्बर ५ ईटियाही बस्ने अन्दाजी वर्ष ५५ की पशुपती देवी कनुईन र सुवर्ण गाँउपालिका वडा नम्बर १ चरमोहना बस्ने अन्दाजी वर्ष ४२ को राजकुमार सिंहलाई पक्राउ गरेको ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेका अनुसार वन मुद्दामा कोल्हबीका माझी विरुद्ध जिल्ला अदालतले ४ हजार ७८ रुपैया ३३ पैसा जरिवाना तोकेको थियो भने गाली बेइज्जति मुद्दामा अदालतबाट कनुइन विरुद्ध १ महिना कैद र १ हजार रुपैया जरिवाना फैसला भएको थियो ।त्यसैगरी कर्तव्य ज्यान मुद्दामा अदालतबाट १ हजार जरिवाना फैसला भएका सिंहलाई समेत पक्राउ गरी जिल्ला अदालत बारा, कलैयामा दाखिला गरिएको प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो ।


















