जनकपुरधाम,मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आफ्नो नियुक्तिविरुद्ध सर्वोच्च अदालतले फैसला गरेमा तत्काल पद छाड्ने बताउनुभएको छ ।जनकपुरधाममा मंगलवार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री यादवले सर्वोच्च अदालतले आफ्नो नियुक्ति असंवैधानिक वा गलत ठहराएमा एकछिन पनि पदमा नबस्ने बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘एमाले संविधान र कानूनको पालन गर्ने पार्टी हो । म सोही पार्टीको संस्कार बोकेको व्यक्ति हुँ, त्यसैले अदालतको आदेश आए लगत्तै सत्ता हस्तान्तरण गर्न तयार छु ।’
मुख्यमन्त्री यादवले मधेस प्रदेशमा प्रतिनिधित्व गर्ने दलहरूले आफूलाई विश्वासको मत दिने विश्वास पनि व्यक्त गर्नुभयो । उहाँका अनुसार, विगतमा एमालेले जसपा नेपाल र जनमत पार्टीलाई सरकार गठनमा सहयोग गरेको हुँदा अहिले ती दलहरूले पनि बाध्यात्मक परिस्थितिमा सरकार सञ्चालनको जिम्मेवारी लिएको एमालेलाई सहयोग गर्नेछन् भन्ने अपेक्षा रहेको छ ।
’संवैधानिक सर्वोच्चता कायम गर्न बाध्यात्मक अवस्थामा सबैभन्दा ठूलो दल एमालेको नेताको हैसियतले मुख्यमन्त्री बनेको हुँ,’ यादवले भन्नुभयो, ’दलहरूले मलाई सहयोग गर्नेछन् भन्नेमा म विश्वस्त छु ।’यादवले अहिले आफूसँग एमालेका प्रदेशसभा सदस्यहरूको मात्र समर्थन रहेको स्पष्ट गर्दै अन्य दलहरूसँग छलफल प्रक्रिया अघि बढाइसकेको जानकारी दिनुभयो । उहाँले दलहरूसँगको संवादपछि सकारात्मक परिणाम आउने विश्वास व्यक्त गर्नुभयो ।
दीर्घकालीन प्रभाव पर्ने काम नगर्न आदेश
जनकपुरधाम,सर्वोच्च अदालतले मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई दीर्घकालीन प्रभाव पर्ने कुनैपनि काम नगर्न आदेश दिएको छ ।न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले सुविधा र सन्तुलनको दृष्टिकोण भन्दै मुख्यमन्त्री यादवलाई मधेश प्रदेशमा दीर्घकालीन प्रभाव पार्ने कुनै नीतिगत निर्णय नगर्नू नगराउनू भनेको हो ।सर्वोच्च अदालतको यो आदेश मुद्दाको अन्तिम किनारा नलागेसम्म कायम हुनेछ ।मुख्यमन्त्री नियुक्तिविरुद्ध रकिप्रसाद साहसमेतले दिएको रिट निवेदनका आधारमा न्यायाधीश ढुंगानाको इजलासले यस्तो आदेश जारी गरेको हो ।मधेश सरकार संविधानको धारा १६८ को उपधारा ३ बमोजिम गठन भएको थियो ।
गत आइतवार दलहरूलाई छलेर संविधानको धारा १६८ को ३ बमोजिम प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले ठूलो दलको हैसियतले नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो ।सोमबार बिहान बिरामी भएको बहानामा काठमाडौं जान लागेको भन्दै महोत्तरीको बर्दिबासको पानस होटेलमा नवनियुक्त मुख्यमन्त्रीलाई शपथ ग्रहण गराउनुभएको थियो ।होटलमा मुख्यमन्त्रीलाई शपथ खुवाउनले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी भने पदमुक्त भइसक्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलवार भण्डारीलाई पदमुक्त गर्नुभएको थियो ।नयाँ प्रदेश प्रमुखमा सुरेन्द्र लाभ कर्णले शपथ लिइसक्नुभएको छ ।















