मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैंसेमा यात्रुवाहक सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।
रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौंका लागि छुटेको ना।१ ज २१४३ नम्बरको यात्रुवाहक सुमो बिहीबार बिहान करिब ८ः३० बजे हेटौंडा–भैंसे सडकखण्डको घुम्तीमा अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल भैंसे खोलामा खसेको हो।
दुर्घटनामा चालकसहित सुमोमा सवार १० जना घाइते भएका थिए। घटनालगत्तै प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले उद्धार गरी सबै घाइतेलाई उपचारका लागि हेटौंडा अस्पताल पुर्याएको थियो।
अस्पतालमा उपचारका क्रममा बिहान ९ः२० बजे चिकित्सकले तीन जनालाई मृत घोषणा गरेका हुन्। दुर्घटनामा घाइते भएका अन्य सात जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार घाइते सबैको अवस्था मध्यम रहेको छ।
















