काठमाडौं, १ मंसिर। नेपालले आगामी हिउँदयाममा भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्न अनुमति पाएको छ। साथै, नेपालमा उत्पादित ५६ मेगावाट विद्युत् भारतीय बजारमा बिक्री गर्न पनि अनुमति प्राप्त भएको छ।
भारतको विद्युत् मन्त्रालयअन्तर्गत केन्द्रीय विद्युत् प्राधिकरणले नेपाल विद्युत् प्राधिकरणलाई भारतीय ऊर्जा विनिमय बजार ९आईएक्स० को डे(अहेड र रियल टाइम बजारबाट प्रतिस्पर्धी मूल्यमा दैनिक १७ घण्टासम्म विद्युत् आयात गर्न स्वीकृति दिएको हो।
प्राप्त अनुमतिअनुसार नेपालले १ मंसिर २०८३ देखि १५ साउन २०८४ सम्म विद्युत् आयात गर्न पाउनेछ। बिहान ५ देखि ८ बजेसम्म र साँझ ५ देखि ९ बजेसम्मको समयबाहेक अन्य समयमा विद्युत् खरिद गर्न सकिनेछ।
विद्युत् प्राधिकरणले कटैया–कुशाहा, रामनगर–सुरजपुरा र रक्सौल–परवानीपुर १३२ केभी प्रसारण लाइनमार्फत ३०० मेगावाट तथा न्यू नौतनिया–मैनहिया १३२ केभी प्रसारण लाइनबाट ५० मेगावाट गरी कुल ३५० मेगावाट विद्युत् आयात गर्न सक्नेछ।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले भारतबाट आयातको अनुमति प्राप्त भएकाले आगामी हिउँदयाममा विद्युत्को माग र आपूर्ति व्यवस्थापन गर्न सहज हुने बताए।
रसुवास्थित भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको हिमबाढीका कारण जलविद्युत् आयोजना तथा प्रसारण लाइनमा क्षति पुगेपछि ४३१ मेगावाट जडित क्षमता भएका आयोजना राष्ट्रिय विद्युत् प्रणालीबाट विच्छेद भएका छन्। यसलाई समेत ध्यानमा राखेर हिउँदयामको विद्युत् व्यवस्थापनको तयारी गरिएको श्रेष्ठले बताए।
प्राधिकरणको विश्लेषणअनुसार यस वर्ष पुसदेखि चैतसम्म चार महिनाको अवधिमा आन्तरिक उत्पादनभन्दा विद्युत् माग बढी हुने अनुमान छ। त्यसैले उक्त अवधिमा भारतबाट विद्युत् आयात गर्नुपर्ने अवस्था रहनेछ।
विशेषगरी माघ र फागुनमा दैनिक औसत ४५० देखि ५०० मेगावाटसम्म विद्युत् आयात गर्नुपर्ने अनुमान गरिएको छ। उच्च माग हुने समयमा भने दैनिक ८०० देखि ९०० मेगावाटसम्म विद्युत् आयात आवश्यक पर्ने आकलन छ। पुस र चैतमा तुलनात्मक रूपमा कम विद्युत् आयात गरे पुग्ने प्राधिकरणको अनुमान छ।
आगामी वैशाखदेखि नदीमा पानीको बहाव बढ्दै जाँदा आन्तरिक विद्युत् उत्पादनसमेत वृद्धि हुने र आयात घटाउँदै निर्यात सुरु गर्न सकिने अपेक्षा गरिएको छ।
यसैबीच, नेपाल विद्युत् प्राधिकरणले तीन जलविद्युत् आयोजनाबाट उत्पादित कुल ५६ मेगावाट विद्युत् भारतीय ऊर्जा विनिमय बजारमा बिक्री गर्न पनि अनुमति पाएको छ।
प्राधिकरणले उक्त विद्युत् १ मंसिर २०८३ देखि १५ साउन २०८४ सम्म भारतीय बजारमा निर्यात गर्न सक्नेछ। यसले हिउँदमा विद्युत् आयात र वर्षायाममा निर्यात गर्ने नेपालको ऊर्जा व्यापारलाई निरन्तरता दिने अपेक्षा गरिएको छ।

















