सिमरा,बाराको पथलैयामा भेट्रान्स फूटबल प्रतियोगिता हुने भएको छ । पथलैया भेट्रान क्लबले बैशाख २० गतेदेखि जेठ २ गतेसम्म ‘प्रथम पथलैया भेट्रान्स फूटबल प्रतियोगिता’ आयोजना गर्न लागेको हो ।पथलैयास्थित श्रीकृष्ण मन्दिरको खेल मैदानमा हुने प्रतियोगितामा १५ वटा टिमको सहभागिता रहनेछ । आयोजकले मंगलवार प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ ।
आयोजक क्लबका अध्यक्ष तोयानाथ खनालका अनुसार प्रतियोगितामा सिमरा भेट्रान्स, एनजेजेभीसी भेट्रान्स, डुमरवाना भेट्रान्स, बकुलिया भेट्रान्स, विकासशील भेट्रान्स, सूर्य निवास भेट्रान्स, युनिक भेट्रान्स, निजगढ भेट्रान्स, बगै भेट्रान्स, वीरगन्ज युथ भेट्रान्स, जिराभवानी भेट्रान्स, कमलडाँडा भेट्रान्स, सिटी भेट्रान्स, आरम्भ भेट्रान्स र आयोजकको सहभागिता रहनेछ ।जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १ को कार्यालय मुख्य सहयोगी रहेको प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले पाँच हजार पाउनेछन् ।


















