वीरगञ्ज,वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२-०८३ का लागि ३ अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँको अनुमानित बजेट ल्याएको छ ।सोमवार आयोजित वीरगञ्ज महानगरपालिकाको नगरसभाको १७ औँ अधिवेशनमा महानगरका उपप्रमुख इम्तियाज आलमले आगामी आर्थिक वर्षका लागि ३ अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँको अनुमानित आयव्ययसहितको बजेट प्रस्तुत गर्नुभएको हो ।
वीरगञ्ज महानगरले आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्षको भन्दा झन्डै ३३ करोड बढी बजेट ल्याएको हो । चालु आर्थिक वर्षका लागि वीरगञ्ज महानगरको बजेट २ अर्ब ८९ करोड ४८ लाख १७ हजार रुपैयाँको थियो ।
सोमवारको नगर सभामा उपप्रमुख आलमले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा चालू खर्चतर्फ दुई अर्ब २६ करोड ५० लाख ४९ हजार अर्थात् कूल बजेटको ७०.२४ प्रतिशत, पुँजीगत खर्चतर्फ ९२ करोड ३४ लाख अर्थात् कूल बजेटको २८.६४ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ तीन करोड ६४ लाख अर्थात् १.१२ प्रतिशत रहेको उल्लेख छ ।
आगामी आर्थिक वर्षको बजेटमा अनुमानित खर्च बेहोर्ने श्रोतहरूमा आन्तरिक राजश्वबाट एक अर्ब १५ करोड, सङ्घीय अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट एक अर्ब ३७ करोड ३० लाख, सङ्घीय राजश्व बाँडफाँटबाट २३ करोड ७८ लाख, प्रदेश अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट पाँच करोड २८८ हजार, प्रदेश राजस्व बाँडफाँटबाट एक करोड ६७ लाख १३ हजार, घरजग्गा रजिस्ट्रेसन शुल्क बापत २५ करोड र नगद मौज्दातबाट १५ करोड बेहोरिने उपप्रमुख आलमले बताउनुभयो ।नगर सभामा बजेट प्रस्तुत गर्दै उपमेयर आलमले आगामी आर्थिक वर्षको बजेटका प्राथमिकतामा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सरसफाइ, वातावरण संरक्षण, गुणस्तरीय भौतिक पूर्वाधार र डिजिटल मैत्री सेवा प्रवाह रहेको पनि बताउनुभयो ।
त्यसअघि नगर सभामा महानगरका मेयर राजेशमान सिंहले आगामी आर्थिक वर्षका लागि ९० बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । वीरगञ्ज महानगरपालिकाको नीति तथा कार्यक्रममा वीरगञ्जको पर्यटन प्रवद्र्धन गर्ने केही महत्वाकांक्षी योजनाहरू पनि समावेश गरिएका छन् ।
मेयर सिंहले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा वीरगञ्जको पर्यटन प्रवद्र्धनका साथै शिक्षा, स्वास्थ्य, सरसफाइलाई प्राथमिकतामा राखिएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर सिंहले ‘अलौ पर्व सङ्ग्रहालय’ र ‘रेल्वे म्युजियम’ निर्माण गरिने बताउनुभयो ।वीरगञ्जको समकालीन इतिहासको सन्दर्भमा विशेष महत्त्व राख्ने ‘अलौ पर्व’ (वीरगञ्ज–१७ अलौमा १९०४ साल साउनमा तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले तत्कालीन राजा राजेन्द्र विक्रम शाहलाई नियन्त्रणमा लिइएको घटना) को स्मृति संरक्षण, अध्ययन तथा भावी पुस्तामा ऐतिहासिक चेतना प्रवाह गर्न वीरगञ्ज महानगरले ‘अलौ पर्व सङ्ग्रहालय’ निर्माण गरी त्यसमा अलौ पर्व सम्बन्धी ऐतिहासिक अभिलेख, सामग्री, चित्र, प्रतिकृति तथा दस्ताबेजहरू राखिने मेयर सिंहले बताउनुभयो ।
त्यस्तै वीरगञ्ज नेपालको पहिलो रेल सेवा (रक्सौल–अमलेखगञ्ज रेल सेवा) प्रारम्भ भएको ऐतिहासिक सहर भएको भन्दै मेयर सिंहले रेलवे सेवा स्थापना भएको १०० वर्ष पुरा भएको अवसरमा,पुराना रेल्वे संरचनाहरूलाई संरक्षण र पुनः प्रयोग गर्दै ‘रेल्वे म्युजियम’निर्माणको कार्य अगाडि बढाइने बताउनुभयो ।यस्तै वीरगञ्जको घण्टाघर आसपास वर्षौँदेखि खाली रहेको सार्वजनिक जग्गामा सुव्यवस्थित, हरित र आधुनिक ’बिपी उद्यान’निर्माण गरिने योजना पनि नीति तथा कार्यक्रममा समावेश छ ।
यसै गरी वीरगञ्ज– २८ बगहीमा ‘महानगर नमुना अस्पताल’ निर्माण गर्ने,वीरगञ्ज–२३ मा ‘सहुलियत दरको ल्याब सेवा (प्रयोगशाला)’ सञ्चालनमा ल्याइने, वीरगञ्ज–१६ इनर्वामा बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल स्थापना गरिने, महानगर आफैँले ‘महानगर फार्मेसी’ सञ्चालनमा ल्याउने योजना पनि महानगरको नीति तथा कार्यक्रममा उल्लेख छ ।
महानगरका सबै सामुदायिक विद्यालयमा ‘एक विद्यालय, एक स्मार्ट कक्षा’कार्यक्रम लागू गरिने, आधारभूत तहका सबै सामुदायिक विद्यालयमा सूचना प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यका साथ ‘एक विद्यालय, एक ल्यापटप र एक प्रिन्टर’ कार्यक्रम लागु गरिने, वीरगञ्ज–१० आदर्शनगरमा रहेको पुस्तकालयलाई आधुनिकीकरण गरिने,३२ वटै वडामा सामुदायिक पुस्तकालय स्थापना गरिने, कक्षा १० का विद्यार्थीलाई लक्षित गरी एसइई परीक्षाको तयारीका लागि निःशुल्क कोचिङ कक्षा सञ्चालन गरिने मेयर सिंहले बताउनुभयो ।
स्थानीय भाषा भोजपुरी भाषा र संस्कृतिको संरक्षण, अभिवृद्धि र अन्तर्राष्ट्रिय प्रचार–प्रसार गर्ने उद्देश्यले वीरगञ्जमा अन्तर्राष्ट्रिय भोजपुरी सम्मेलन आयोजना गरिने पनि उहाँले बताउनुभएको छ ।वीरगञ्जलाई सुन्दर, समुन्नत, समृद्ध र ‘वैभव वीरगञ्ज’ का रूपमा रूपान्तरण गर्ने आफ्नो सङ्कल्प, वीरगञ्जवासीको चाहना र आफूले चुनावमा गरेका प्रतिबद्धताहरूलाई मूर्त रूप दिनका लागि आगामी आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रममा आधुनिक र गुणस्तरीय पूर्वाधारको निर्माण, प्रभावकारी शिक्षा तथा स्वास्थ्य प्रणालीको प्रवद्र्धन,धार्मिक तथा पर्यटकीय गन्तव्यहरूको संरक्षण र प्रवद्र्धन, सुशासनसहितको डिजिटल प्रशासन, योजनाबद्ध सहरी विस्तार र स्वच्छ, सफा तथा सुन्दर वीरगञ्जको पहिचान निर्माणका योजनाहरू समावेश गरिएको मेयर सिंहले बताउनुभयो ।मेयर सिंहको अध्यक्षतामा भएको नग सभामा प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, ३२ वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, कर्मचारी,सञ्चारकर्मी लगायताको पनि सहभागिता थियो ।


















