विशेष गरी केही समययता भुटानी शरणार्थी भ्रष्टाचार प्रकरणले मुलुक तरंगित भइरहेको छ । कतिसम्म भने, भ्रष्टाचार छानबिन गर्न गठित कार्यदलका सदस्यसमेत भ्रष्टाचारमा मुछिएका छन् ।उता प्रहरी प्रशासन स्वयं गृहमन्त्रालयका उच्च अधिकारी, पूर्वअधिकारीहरुको छानबिन र पक्राउमा लागेका छन् । भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै हजारौं नेपाली नागरिकबाट रकम असुल्ने कर्मचारी, बिचौलिया, राजनीतिकर्मी र तिनका आसेपासहरु देखिएका छन् ।क्रमशः तिनीहरुलाई पक्राउ गर्न पक्राउ पुर्जी जारी गर्ने र पक्राउसँगै यसले अरु राजनीतिक व्यक्तिहरुको समेत संलग्नता रहेको खुल्न थालेको छ । यसपटक अनुसन्धानको क्रममा मन्त्री र ठूला नेताहरु फन्दामा पर्ने संकेत देखिइसकेको छ । त्यसकारण यसमा संलग्न सबैको नाम सार्वजनिक हुन्छ र तिनलाई कानुनबमोजिम कारबाही हुन्छ नै भनेर ढुक्कसाथ भन्न सकिने स्थिति छैन । तर यसमा प्रधानमन्त्री र गृहमन्त्रीले कुनै पनि हिसाबले सम्झौता गर्नेतिर लाग्नुहुन्न । यसतर्फ सबैले निरन्तर खबरदारी गर्नुपर्ने पनि देखिएको छ ।नेपालजस्तो कम विकसित मुलुकमा भ्रष्टाचारको घटना कुनै नौलो भने होइन । भ्रष्टाचारका सम्बन्धमा गरिएका विविध अन्तर्राष्ट्रिय सर्वेक्षणमा नेपाल अत्यधिक भ्रष्टाचार हुने मुलुकको सूचीमा रहेको छ ।सन् २०२२ मा ट्रान्सपरेन्सी इन्टरनेसनलले गरेको सर्वेक्षण रिपोर्टमा विश्वका दुई सय वटा देशमा गरिएको सर्वेक्षण अनुसार नेपालको स्थान १ सय १० औंमा रहेको छ । विशेषतः राजनीतिक र प्रशासनिक संरक्षणमा यहाँ भ्रष्टाचार एउटा उद्योगझैँ फस्टाइरहेको छ ।

Leave a Reply