डा. वालकृष्ण जोशी

नेपालको राजनीतिमा विदेशी हस्तक्षेप भयो भन्ने कुरा धेरै सुनिन्छ । तर यो हो कि होइन भन्ने प्रत्यक्ष प्रमाण कतै भेटिँदैन । तर हाम्रो कृषि क्षेत्रमा चाहिँ विदेशीको हस्तक्षेप मात्र होइन शासन नै चलिरहेको छ । तर विडम्बना लामो समयदेखि चलिरहेको विदेशी बालीको शासनबारे कोही बोल्दैन । मलाई यो कुरा अचम्म लाग्छ कि हामी विदेशी जातका बाली उपभोग गरेर राष्ट्रवादका नारा लगाइरहेका छौँ । राष्ट्रवाद भनेको त राजनीति वा सरकारमा मात्र होइन हाम्रो खानपानमा हाम्रो कृषिमा पनि हुनुपर्ने होइन र ?नेपालमा सदियौँदेखि किसानको जात अर्थात् भूमि जात भनिने ३० हजारभन्दा धेरै जातका बालीनाली थिए । अहिले यी जात लगभग लोप भइसकेका छन् । विकासे जातका नाममा, हाइब्रिड जातका नाममा अर्थात् धेरै उत्पादन हुने भनेर उत्पादन मात्र हेर्ने मनोविज्ञानले गर्दा कुरा बिगारेको छ । हो, हाम्रा रैथाने जातको उत्पादकत्व कम छ । त्यसको मतलब हामीले विदेशी जात भित्र्याई हाल्ने होइन । हामीले हाम्रै जातको उत्पादकत्व बढाउने हो । ‘भ्यालु एड’ गर्ने हो । जसरी हामीले विभिन्न ज्ञान सिप सिकिरहेका हुन्छौँ, नयाँ नयाँ भाषा सिक्छौँ हो त्यस्तै गरी हाम्रा स्थानीय र रैथाने जातको उत्पादकत्व बढाउनुपर्छ । यसका लागि अध्ययन अनुसन्धान गर्नु प¥यो । कृषि क्षेत्रका विश्वविद्यालय र वैज्ञानिकहरुले उत्पादकत्व र अन्य ‘भ्यालु एड’ गर्नेबारे अध्ययन अनुसन्धान गर्नु प¥यो ।

‘विकासे’ जात प्रतिको आशक्ति

हाम्रोमा ‘विकासे जात’ भनेर कृषि र पशुपक्षीका विदेशी बाली र जातलाई जथाभाबी स्वागत गर्ने गरेको देखिन्छ । हामी विदेशी र ‘हाइब्रिड’ जातमा आसक्त छौँ । त्यसैलाई अघि पछि लगाउँछौ । तर आफ्नै माटोमा जन्मेहुर्केका जातहरूलाई चाहिँ बेवास्ता गरिरहेका छौँ । हाम्रा बालीनालीलाई नै भ्यालु एड गरेर विश्वव्यापी रूपमा विस्तार गर्ने कुराबारेमा चाहिँ सोचेका छैनौँ । जसरी स्वदेशमा विदेशीको शासन स्वीकार्य छैन अनि कृषि क्षेत्रमा पनि विदेशी बालीलाई शासन गर्न दिने ?खेतीका वा पशुपक्षीमा ‘जेनेटिक सेन्स’ हुन्छ । यसको अर्थ हाम्रो भूमिमा हाम्रो जातले नै शासन गर्नुपर्छ भन्ने हो । सबै बालीमा यसो गर्न सकिँदैन । तर धेरै बालीमा सकिन्छ । जसरी विदेशी शासन गर्न आयो भने हामी तत्काल प्रतिक्रिया जनाउँछौँ खेतबारीमा पनि विदेशीलाई शासन गर्न नदिउँ । तत्काल प्रतिक्रिया जनाऔँ ।फर्पिङको नास्पाती नेपालमै बजारमा नपाउने अवस्था छ । त्यसमा आनुवांशिक सुधार गरियो भने त जापानी नास्पाती ल्याउनै पर्दैन । अब फर्पिङमै जापानी नास्पाती पुग्ने अवस्था छ । जापानी ट्राउट माछाले नेपालमा शासन गरिसक्यो । तर, हामीले हाम्रो असला माछाको आनुबांशिक सुधारमा केही काम गरेकै छैनौँ । यो त केही उदाहरण मात्र हो । जुम्ली मार्सी हेरौँ, जुम्ली सिमी, हाम्रा रैथाने माहुरी, गाई, अरू हजारौँ जातको ‘भ्यालु एड’ गर्न हामीले काम गरेकै छैन भने पनि हुन्छ । ‘भ्यालु एड’ गरेर उत्पादन र गुणस्तर बढाउन र शासकत्व थप्न सके हाम्रा बालीहरूले देशमा मात्र होइन विदेशमा पनि शासन गर्ने ल्याकत राख्छन् ।भौगोलिक र जातीय विविधताले गर्दा सबै जातका बालीनाली सबै ठाउँमा लगाउन सम्भव छैन । हाम्रो भूगोल, हावापानी, संस्कृतिलगायतले सबै ठाउँमा उही जातको बाली लगाउन सकिँदैन । त्यसैले जहाँ जे उपलब्ध छ त्यहाँ यही जातको विकास, स्तरोन्नति र प्रवर्द्धन गर्न लाग्नुपर्छ । हाम्रा बालीहरू विश्वब्यापी रुपमा प्रतिस्पर्धा गर्न सक्ने खालका छन् । हामीले त्यसमा थप अनुसन्धान गरेर काम गर्नु¥यो । रैथाने जातहरू स्थानीय वातावरण र समाज र संस्कृतिसँग जोडिएका छन् । स्थानीय हावापानीसँग घुलमिल भएका र रोग किरासँग पनि प्रतिरोधी क्षमता धेरै भएका बाली हुन् । ६० वर्षदेखि स्थानीय माटो र हावापानीसँग घुलमिल भएको हुनाले रैथाने जात भनेको स्थानीय ‘हिरो’ हो । अब हामीले कहाँ, कहाँ कुन बालीका कुन जात छन् भन्ने पनि खोजी गर्न जरुरी छ ।

रैथाने नै किन ?

कृषिका जति पनि नयाँ जात आएका छन् ती सबैको मातृ जात भनेको स्थानीय र रैथाने जातहरू नै हुन् । रैथाने वा स्थानीय जातले उत्पादकत्व बढाउन सकेनन् भने बाली प्रजनन पढेका व्यक्ति र अनुसन्धान केन्द्रले काम गर्नुभयो । नेपाली रैथाने जातलाई विश्वको नम्बर एक जात बनाउन प¥यो । र यो बनाउन सकिन्छ पनि । ‘ग्लोबल्ली सिग्निफिकेन्ट जेनेटिक रिसोर्सेस इन नेपाल’ भनेर जिन बैङ्कबाट हामीले विश्वका धेरै ठाउँमा प्रस्तुतीकरण पनि गरेका छौँ । नेपालको हिमाली क्षेत्रमा जानासाथ हामी अहो कस्तो मनमोहक भन्छौँ नि हो त्यो कुरा बालीनालीमा पनि लैजानु प¥यो ।नेपाली बालिनालीका जातहरू पञ्च गुणमा अग्रशील छ भनेर पनि हामीले खोजी गरेका छौँ । पोषण, स्वास्थ्य वातावरण कुनै हिसावले पनि रैथानेभन्दा विकासे जात राम्रो हुँदै हुँदैन । आफ्नो परिवारको सदस्य कुनै कारणले कमजोर भयो भने त्यसलाई थप शिक्षा दीक्षा, सिप सिकाएको जस्तो हाम्रा बालीको उत्पादकत्व बढाउन लगानी पो गर्ने हो त ।सिँचाइको सुविधा र बजारको ग्यारेन्टी मात्र गर्न सके नेपालको कृषिले विश्वमा शासन गर्ने थियो । तर हाम्रो पारा मिलिरहेको छैन ।तीनै तहका सरकार र मन्त्रालयले मिलेर कृषिलाई प्राथमिकता दिन सक्ने हो भने काम भइहाल्छ । खेतीबाट छिट्टै उत्पादन हुने भएकाले प्रतिफल पाउन पनि छिटो हुन्छ ।

बिर्सिएको बौद्धिक अधिकार

हामीले हाम्रा बालीनालीका क्षेत्रमा गर्नुपर्ने तर अहिलेसम्म खासै केही गर्न नसकेको काम भनेको बौद्धिक अधिकारको क्षेत्रमा हो । आफ्ना रैथाने र स्थानीय जातको अन्तर्राष्ट्रियकरण गर्न, व्यापार बढाउन र प्रतिस्पर्धारहित हुनका लागि पनि बौद्धिक अधिकार पाउन जरुरी छ ।यसका लागि हामीले ‘प्याटेन्ट राइट’को लागि पनि काम थालिहाल्नुपर्ने अवस्था छ‍। हाम्रा कतिपय रैथाने बालीको बौद्धिक सम्पत्ति अधिकार अन्य देशले लगिसकेका छन् । हाम्रो अकबरे खुर्सानी, बासमती चामललगायत जातमा अब हाम्रो बौद्धिक अधिकार रहेन । भारतले आफ्नो पारिसक्यो ।जिन बैङ्कले गरेको अनुसन्धानबाट नेपालका १ सय वटाभन्दा बढी कृषि बालीमा बौद्धिक सम्पत्तिको अधिकार लिन सक्छौँ भन्ने पाइएको छ । तर यतातिर धेरै काम हुनै सकेको छैन ।जुम्ली मार्सी, जुम्लाको सिमी, फर्पिङको नास्पातीजस्ता सयभन्दा धेरै रैथाने बालीको भौगोलिक सङ्केत अर्थात् ’जी आई ट्याग’ लिन सक्छौँ । यस्तो ट्याग पाएका जातमाथि विश्वका कुनै पनि देशले प्रतिस्पर्धा गर्नै पाउँदैनन् । विश्वव्यापी रूपमा मार्केटिङ गर्ने हो भने ‘जी आई ट्याग’ लिनुपर्छ । यसैका लागि भारतले धेरै जातको ‘जी आई ट्याग’ लिएको छ । यसतर्फ हामीले केही काम गरेका भए पनि पर्याप्त भएको छैन । अहिले उद्योग मन्त्रालयले केही गर्न त खोजेको छ तर पर्याप्त छैन । नेपालमा राष्ट्रवादका धेरै कुरा गरे पनि त्यसमा राजनीतिक र प्रशासनिक कुरा मात्र हुन्छ । तर कृषि, पशुपालनमा खोइ राष्ट्रवाद ? विदेशी जातका बालीनाली उपभोग गरेर कसरी हुन्छ राष्ट्रवाद ?एउटा सानो उदाहरण हेरौँ– हामी सडकको छेउछाउमा स्थानीय जातका नास्पाती, अम्बा, केरा, काफल रोपे के हुन्छ र ? मानिसले खाए पनि भयो । नभए चराचुरुङ्गी र पशुहरूले खान्छन् के फरक पर्छ त ? आँप खाएर डस्बिनमा फालेका कोया जङ्गलतिर सडकको छेउछाउमा फालिदिऊँ न । त्यहाँ उम्रिन्छ फुल्छ फल्छ यसले के नराम्रो भयो र ? सम्झनुस् त रिङ रोडमा फर्पिङको नास्पाती, मालभोग केरा, रैथाने काफललगायत फलाउन सके त कति राम्रो हुन्थ्यो होला ? सधैँ मसला काठ र कपुर मात्र किन रोप्ने र ? काफल चराले खाए चरा त फस्टाउँछन् होइन र ? हामीले अहिले फिल्ड जिन बैङ्क भनेर पनि केही काम गरिरहेका छौँ । तर हाम्रो मात्र प्रयासले यो सम्भव हुँदैन । सबैले गर्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here