पुष्पराज खतिवडा
मनहर्वा,बारा क्षेत्र नं.२ मा आगामी बैशाष १० गते हुने निर्वाचनमा मतदाता आकर्षित गर्न उमेदवारसँगै पार्टीहरुले आफ्ना गतीविधि बढाएका छन् ।टोल भेला, घरदैलो, क्षेत्रीय भेलासँगै उमेदवारहरु खेतखेतमा पुगरे मत माग्ने क्रम बढेको छ । दलहरुले निर्वाचनलाई पार्टीको प्रतिष्ठाको विषय बनाएको बारा क्षेत्र नं.२ अन्तर्गतको करैयामाई निवासी पूर्वजनप्रतिनिधि रामएकवाल चौधरीको भनाइ छ । उहाँका अनुसार जनता समाजवादी पार्टी (जसपा), नेकपा एमाले, जनमत पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र आम जनता पार्टीले क्षेत्र नं.२ मा चुनावी प्रचारलाई तीव्र पार्दै लगेका छन ।यस पटकको चुनावमा दलहरुले आफ्नो प्रतिष्ठाको विषय बनाएको देखिन्छ । जनता समाजवादी पार्टीले केन्द्रिय अध्यक्ष उपेन्द्र यादवलाई उमेदवार बनाएको छ । यसअघि गत मंसिरमा सम्पन्न निर्वाचनमा सोही पार्टीका रामसहाय प्रसाद यादवले नेकपा एमालेको सहयोगमा यस क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा चुनाव जित्नुभएको थियो । उहाँ उपराष्ट्रपती बनेपछि यहाँ उपचुनाव हुन लागेको हो ।
यसअघि जसपालेनै जितेकाले यसपटक जसपाकै उमेदवार यादवले सहजै चुनाव जित्ने अनुमान गरिएको छ । यादव सत्तारुढ ५ दलीय गठबन्धनको तर्फबाट उम्मेदवार बनेका हुन । क्षेत्रमा अर्को बलिया शक्ति मानिएको कांग्रेसले पनि उनलाई समर्थन गरेको छ । यस दृष्टिकोणबाट हेर्दा यादवको जित सुनिश्चित जस्तै देखिन्छ ।यद्यपि परिस्थिति बाहिर देखिए जस्तो नरहेको चौधरीको भनाइ छ । उहाँले भन्नुभयो, ‘जसपा अध्यक्ष जिल्लाका बासिन्दा हैनन् । पर्यटक (आगन्तुक) उमेदवारलाई भोट दिन नहुने मत पनि जनतामा बलियो छ । जसपा अध्यक्ष पटक पटक उपल्लो ओहदामा पुगेर जनताको पक्षमा केही गर्न नसक्ने पद लोलुप व्यक्तिको रुपमा यहाँका जनताले थाहा पाएका छन् ।’नेकपा एमालेले पूर्व यूवा तथा खेलकुद मन्त्री पूरुषोत्त्म पौडेललाई मैदानमा उतारेको छ । उहाँ यस क्षेत्रका लागि प्रभावशाली नेता मानिनुहुन्छ । एमाले पोलिटब्युरो सदस्य एवं मधेश प्रदेश सहईन्चाज पौडेलको यस क्षेत्रमा आफ्नै खालको क्रेज छ । सादा जीवन उच्च विचारका पौडेल जनता र कार्यकर्तासंग घुलमिल भएको नेताको रुपमा परिचित हुनुहुन्छ । उहाँको जितका लागि एमालेले कुनै कसर बाँकी राख्ने देखिँदैन ।२०४८ र २०५६ मा एमाले जितेको क्षेत्र भएकाले एमाले यहाँ बलियो नै मानिन्छ । पौडेललाई चुनावी अभियानलाई उर्जा दिन गएको २२ गते एमाले अध्यक्ष केपी शर्मा ओली बारा आउनुभएको थियो । ओलीको आगमनपछि यहाँको माहोल एमालेमय बन्दै गएको महागढीमाई नगरपालिका २ का सर्वजित पटेलले बताउनुहुन्छ । त्यसैगरी बारा क्षेत्र नम्बर ३ की सांसद ज्वाल कुमारी साह, क्षेत्र नम्बर १ का सांसद अच्युत मैनाली र एमाले नेता रघुविर महासेठ लगायतका संघीय साँसदहरु पौडेल जिताउ अभियानमा यतिबेला सक्रिय बनेका छन् ।यसैगरी नेकपा माओवादीका पूर्वनेता शिवचन्द्र कुशवाह हाल जनमत पार्टीका उमेदवार हुनुहुन्छ । उहाँ पनि यस क्षेत्रका प्रभावशाली व्यक्तिका रुपमा परिचित हुनुहुन्छ । गत मंसिरको निर्वाचनमा यस क्षेमा २५४ मते रामसहायप्रसाद यादवसँग कुशवाहा पराजित हुनुभएको थियो । उहाँ यसपटक मंसिरको हारको बदला लिन चाहनुहुन्छ । उहाँलाई कुनै हाललमा जिताउन जनमत पार्टीका अध्यक्ष सिके राउत समेत क्षेत्रमै खटदै आउनुभएको छ । तर पटकपटक पार्टी परिवर्तन गर्दैआएका कारण यसपटक कुशवाहाको पक्षमा माहोल बनेको देखिदैन । उनलाई मतदाताले दल बदलु नेताको चित्रण गर्ने गरेका छन ।यसैगरी गत निर्वाचनमा स्वतन्त्र उमेदवार बनेर पराजित अरुण ज्ञवाली यसपटक प्रभु साहको आम जनता पार्टीबाट उमेदवार हुनुहुन्छ । उहाँको अभियानलाई स्वमं प्रभु साहले अगुवाई गरिरहनुभएको छ ।यस्तै राष्टिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले एकको बदला ३ भन्दै चुनावी माहोल बनाउँदै लैजानुभएको छ । रास्वपाले पूर्वडिआजी रमेश खरेललाई उम्मेदवार बनाएको छ । एमाले, जसपा र जनमत पार्टीको तीव्र प्रतिस्पर्धामा उहाँ पनि संगसंगै जस्तो देखिनुभएको छ ।


















