हेटौडा,मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको गौरीगाउँमा जीप भासिएको ठाउँबारे अध्ययन गर्न आएको भूगर्भविद्को टोलीले काम रोकेको छ ।खानी तथा भूगर्भ विभागका भूगर्भविद्को टोलीले मंगलवारदेखि स्थलगत अध्ययन शुरू गरेकोमा बुधवार दिउँसो गाडी दबिएको ठाउँ वरपरका जमिन पनि भासिन थालेको भन्दै अध्ययन स्थगित गरेको हेटौँडा उपमहानगरपालिकाले जनाएको छ ।
तीन दिनसम्म प्रहरी र स्थानीयवासीले खोजी गर्दा जीप नभेटेपछि हेटौँडा उपमहानगरपालिकाले भूगर्भविद्लाई बोलाएको थियो । खानी तथा भूगर्भविद् नारायण अधिकारीको नेतृत्वमा भूगर्भविद् कृष्ण पाण्डे र मणी खनाल लगायतको टोलीले अध्ययन थालेको थियो ।जीप भासिएको ठाउँमा निकै ठूलो दलदल बनेको र वरपरसमेत भासिँदै तल खस्न थालेको भूगर्भविद्को भनाई छ । टोलीले जीप दबिएको भनिएको ठाउँमा धातुजन्य वस्तु छ भन्ने यकिन गरेको छ । गाडी बेपत्ता भएको ठाउँमा धातु पत्ता लगाउने उपकरण जमिनभित्र पठाएर अध्ययन गरिएको थियो ।
भूगर्भविद् टोली प्रमुख अधिकारीका अनुसार सो क्षेत्रको भूबनोट निकै कमजोर र तरलता युक्त रहेको छ । माथिल्लो भागमा केही माटो भरिएपनि तल्लो भागमा बालुवा तथा दलदल युक्त माटो रहेको बताइएको छ ।उक्त भूबनोटका कारण गाडी भासिएको स्थानमा प्रेसर जेनेरेट भएर जमिन तरलतामा परिणत भएको उहाँले सुनाउनुभयो । घटना स्थलको भू बनोट ग्लेइ सिल्ड तथा ५ मिटर तल बालुवा भेटिएको उहाँले बताउनुभयो ।भूमिगत पानी नजिक रहेको उक्त बालुवा भएको क्षेत्रमा केही डाइनामिक लोड परेमा एजिटेड हुने र वैज्ञानिक भाषामा सेयर स्ट्रेन्थ शून्य हुने अधिकारीले बताउनुभयो । जसले गर्दा उक्त क्षेत्रको माटो ठोस नभएर तरल बन्ने अवस्था रहने उहाँले जानकारी दिनुभयो ।
अध्ययन टोलीले गाडी भासिएको स्थान आसपास म्याग्नेटो मिटर प्रयोग गरेर गाडीको लोकेसन पत्ता लगाउने काम भएको उहाँको भनाई छ । उहाँका अनुसार म्याग्नोटो मिटरले गाडी भासिएको स्थानमा बनेको खाल्डो भन्दा केही पूर्वतर्फ ‘मेटल डिटेक्ट’ भएको छ । सो क्षेत्रको चुम्बकीय आकर्षण निकै बलियो र कडा रहेको उहाँले बताउनुभयो ।म्याग्नेटो मिटर अप्रत्यक्ष रूपमा फलामजन्य वस्तु पत्ता लगाउने विधि भएकाले सो स्थानमा गाडी नै छ भन्न नसकिने उहाँको भनाई छ । म्याग्नेटो मिटरले लोकेट गरेको स्थानमा भूगर्भ विदको टोलीले ३ स्थानमा पावर अगर विधिबाट गाडीको लोकेसन पत्ता लगाउने काम गरेको थियो ।
जसमा जमिन मुनी ६ मिटरमा फलाम जन्य वस्तु रहेको निश्चित गरेको उहाँले बताउनुभएको छ । पावर अगर ‘ड्रिलिङ’ मेथड भएकाले ३ स्थानमा गरिएको परीक्षण मध्ये २ स्थानमा ५.४० मिटर र ५.६० मिटर (करिब ६ मिटर) मा फलाम जन्य वस्तु रहेको उहाँको भनाई छ ।पावर अगर गरिएका मध्ये एउटामा रड ८ मिटरको गहिराइसम्मा सजिलै गएको र त्यसपछि गरिएका दुई वटा ड्रिलिङका क्रममा ड्रिल रड जम्मा ६ मिटरसम्म मात्रै धसेको उहाँले बताउनुभयो । टोलीले सो स्थानको माटो तला भूमिगत जलको परीक्षण गर्ने गरी केही नमुनाहरू पनि सङ्कलन गरेको छ ।गत शुक्रबार उक्त स्थानमा जमिन भासिएर ना ४ च ४८३३ नम्बरको उक्त गाडी घाँस काट्ने मेसिन लोड गरेर त्यहाँ पुगेर रोकिराखेको अवस्थामा अगाडिको पाङ्ग्रा भासिएको र जग लगाएर निकाल्ने क्रममा एक्कासि जमिनमै भासिएर बेपत्ता भएको थियो ।लगातार ३ दिन खोज्दासम्म गाडीको अवस्था पत्ता नलागेपछि हेटौँडा उपमहानगरपालिकाले आइतबार उक्त स्थानको अध्ययनका लागि भूगर्भविद्लाई ल्याएर अध्ययन गर्ने गरी पत्राचार गरेको थियो ।

















