निजगढ,बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर १६ सखुवाघाटमा नवनिर्मित स्वास्थ्य चौकी भवनको बुधवार उद्घाटन गरिएको छ ।नवनिर्मित स्वास्थ्य चौकी भवनको एक कार्यक्रमकाबीच जीतपुरसिमराउपमहानगरपालिकाका नम्बर १६ का वडा अध्यक्ष हरिदेव खरेलले उद्घाटन गर्नुभएको हो ।उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै वडा अध्यक्ष खरेलेल शिक्षा र स्वास्थ्यको विकासले नै जनतामा समुन्नति ल्याउने बताउनुभयो । स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न भएपछि वडाका नागरिकहरुलाई सामान्य रोगको लागि पनि बाहिर जानुपर्ने बाध्यताको अन्त्य हुने बताउनुभयो । उहाँले स्वास्थ्य चौकीबाट प्रवाह हुने सेवा सुविधा पनि गुणस्तरीय हुनुपर्नेमा जोड दिनुभयो ।त्यस्तै कार्यक्रममा बोल्दैउपमहानगरपालिकाका उपप्रमुख भोला अधिकारीले नागरिकको स्वास्थ्य समस्याप्रति स्थानीय सरकार गम्भीर र जिम्मेवार रहेको भन्दै नगरपालिकाले स्वास्थ्य क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर काम गर्दैआएको उल्लेख गर्नुभयो ।२ वर्षदेखि निर्माण सुरु भएको सखुवाघाट स्वास्थ्य चौकी भवन ३७ लाखको लागतमा निर्माण भएको हो । वडा नम्बर १६ वडा कार्यालय भवन नजिकै रहेको स्वास्थ्य चौकी संचालनमा आउने भएपछि स्थानीयहरु हर्षित भएका छन् ।उपमहानगर उपप्रमुख अधिकारीको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा उपमहानगरपालिका कार्यालयको शिक्षा तथा युवा खेलकुद शाखा प्रमुख शिवजी प्रसाद लगायत कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।















