कलैया,बाराको आदर्श कोतवाल गाउँपालिका अध्यक्ष मुस्तुफा अन्सारीसहित पाँच जना जनप्रतिनिधिहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले बाराले आदर्श कोतवाल गाउँपालिकाको महेन्द्र आदर्श जयनगर च्युँटाहाको रामचरित्र माध्यमिक विद्यालयमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले टीका र माला लगाएर अन्सारीसहित पाँच जनालाई एमाले प्रवेश गराउनुभएको हो । पालिका अध्यक्ष मुस्तुफा जनता समाजवादी पार्टी त्याग गरेर एमालेमा प्रवेश गर्नुभएको हो । उहाँसहित माओवादी र अन्य पार्टीका चार जना वडाध्यक्षहरु एमाले प्रवेश गर्नुभएको छ ।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले देशमा जातीय, क्षेत्रीय एवं साम्प्रदायिक द्वेष फैलाएर केही शक्तिले लाभ खोजी रहेको बताउनुभयो ।
पार्टी प्रवेश एवं विशेष जनसभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले जातीय संक्रिणतालाई मुद्दा बनाएर क्षेणिक लाभ लिनेहरु सक्रिय भएकाले नेपाली जनता सचेत हुनु पर्ने बताउनुभयो ।
अध्यक्ष ओलीले आफू प्रधानमन्त्री भएका बेला लिएका नीति र विकासको कार्यक्रमलाई जनताले मुल्याङ्कन गरिरहेको पनि उहाँले बताउनु भयो ।
आफनो नेतृत्वको रहेको नेकपा सरकारले तराई मधेशमा ठुलो लगानी गरेको उहाँको भनाइ थियो । ‘वर्षौदेखि रोकिएको हुलाकी राजमार्ग निर्माण, पूर्वपश्चिम राजमार्ग फराकिलो बनाउने कार्यको थालनी भएको थियो, अध्यक्ष ओलीले भन्नुभयो, तराईका सम्पूर्ण सडकको स्तर उन्नतिको काम पनि मेरै पालमा सुरु भएको हो ।’
‘महिनाको एकसय रुपैंयाबाट सुरु गरेको वृद्ध भत्ता आज दिनको १ सय ३३ पु¥याएका छौं, ओलीले भन्नुभयो, चुनावपछि बन्ने हाम्रो सरकारले सामाजिक सुरक्षा भत्तालाई ५ हजार पु¥याउँने लक्ष्य लिएका छौं ।’ नागरिकता तराईको टट्कारो समस्या भएको बताउदै ओलीले नेपाली नागरिकका सन्तानले बंशजको आधारमा नागरिकताको प्रमाण पत्र पाउनु पर्ने उहाँको भनाइ थियो । ‘संसद नचलेका बेला अध्यादेशमार्फत नागरिकता विधयक ल्याएका थियौं, जनादेशबाट हैन परमादेशले हामीलाई सरकारबाट हटाइयो, पु्रा अवधि काम गर्न पाएनौं ।’ अध्यक्ष ओलीले भन्नुभयो । उहाँले देशको विकासको लागि अझै धरै काम गर्न बाँकी रहेको सुनाउदै अधुरा काम पुरा गर्न हामी फेरि एकपटक सरकारमा जानै पर्ने भएको छ भन्नुभयो ।
कार्यक्रममा एमाले अध्यक्ष ओलीले गाउँपालिका अध्यक्ष अन्सारीसहित गाउँपालिकाका कार्यपालिका सदस्यहरु, वडा अध्यक्षहरुर सोही पालिकाका नेकपा माओवादीका अध्यक्ष राकेश यादवलाई नेकपा एमालेमा स्वागत गर्नुभएको थियो ।
यस्तै अध्यक्ष ओलीले कलैया उपमहानगरपालिका वडा नम्बर ९ का अध्यक्ष डा. अख्तर अंसारी, नेकपा एसका युवा नेता राजेश साह लगायत विभिन्न पार्टी परित्याग गर्ने करिब ५ हजार जनालाई पार्टीमा टिका लगाएर स्वागत गर्नुभएको थियो ।
यसैबीच पर्साको वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी नेकपा एमाले प्रवेश गर्नुभएको छ । सरावगी जनता समाजवादी पार्टी परित्याग गरि एमालेमा प्रवेश गर्नुभएको हो ।
वीरगन्जको प्रसौनीबिर्तामा आयोजना गरिएको कार्यक्रममा सरावगीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउनुभएको हो । २०७४ सालको स्थानीयतहको चुनावमा सरावगी तत्कालीन संघीय समाजवादी फोरमबाट मेयरमा निर्वाचित हुनुभएको थियो । पार्टी प्रवेश कार्यक्रममा मेयर सरावगीले आफू एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ओलीको व्यक्तित्वबाट पहिलेदेखि प्रभावित रहेको र जनता समाजवादी पार्टीमा अहिले पनि जातिवादकै राजनीति भइरहेको र जातिवादको राजनीति गर्ने पार्टी कहिल्यै पनि राष्ट्रिय पार्टी हुन नसक्ने बताउनुभएको छ । जसपाले अहिले पनि जातिवादकै राजनीति गरिरहेको मेयर सरावगीले टिप्पणी गर्नुभयो ।
सरावगीसँगै वीरगन्ज महानगरपालिका वडा नम्बर १४ का अध्यक्ष भरत कुर्मी र वडा नम्बरं २५ का अध्यक्ष विश्वराज राउत कुर्मी पनि एमालेमा प्रवेश गर्नुभएको छ । उहाँहरु पनि तत्कालीन संघीय समाजवादी फोरम पार्टीबाट पार्टी अध्यक्ष चुनिनुभएको थियो ।
नेपाली कांग्रेसमा प्रवेश गर्ने हल्ला चलिरहेकै बेला मेयर सरावगी अन्तिममा एमाले प्रवेश गर्नु भएको हो । उहाँलाई पूर्वमन्त्री मोती दुगडले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गराइदिएपछि एमाले प्रवेश गर्ने वातावरण बनेको बताइएको छ । एमाले अध्यक्ष ओलीसँग आफू सुरुदेखि नै प्रभावित भएको भन्दै मेयर सरावगीले उहाँले जत्तिको बोल्ड डिसिजन गर्न सक्ने नेता अरु नभएको बताउनुभयो । एमालेका अध्यक्ष ओली भने अब पर्सा एमालेमय भएको र सबै तहको चुनावमा एमाले पहिलो पार्टी बन्ने निश्चित भएको बताउनुभयो ।