रौतहट, १९ असोज-रौतहटको गुजरा नगरपालिकामा अलपत्र अवस्थामा रहेका ४२ जना भारतीय नागरिकको उद्धार गरी भारतीय सीमा सुरक्षा बलको जिम्मा लगाइएको छ ।
गुजरा नगरपालिका– ५ लक्ष्मीपुरस्थित मोहम्मद मुजामिलले सञ्चालन गरेको मदिना इँटा भट्टामा भारतीय ठेकेदारमार्फत काम गर्न आएका १२ पुरुष, ११ महिला तथा उनीहरूका आश्रित १० बालक र ९ बालिकासहित ४२ जना अलपत्र परेको सूचना प्रहरीले पाएको थियो ।
सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय रौतहट तथा इलाका प्रहरी कार्यालय लक्ष्मीनिया विजयपुरबाट संयुक्त प्रहरी टोली परिचालन गरी घटनाबारे अनुसन्धान गरिएको थियो ।
अनुसन्धानका क्रममा उनीहरूलाई ल्याएका भारतीय ठेकेदार सम्पर्कविहीन रहेको खुलेपछि प्रहरीले सोमबार साँझ ५ बजे सबै ४२ जनाको उद्धार गरेको हो । उद्धार गरिएका उनीहरूलाई ना.७ ख १६७५ नम्बरको बसमा गौर भन्सारतर्फ पठाइएको थियो ।
गौर भन्सार सुरक्षा गार्ड रौतहटको पहलमा उनीहरूलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) को बर्गिनिया, बिहारस्थित एएचटीयू टोलीको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । उक्त इँटा भट्टा प्रहरी चौकी हरिनगर, रौतहटबाट करिब ५ किलोमिटर पूर्व–दक्षिणमा रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply