जनकपुरधाम – सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा सहभागी हुन पुग्नुभएका सङ्घीय सरकारका शिक्षा मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेल आफ्नै पार्टीका स्थानीय नेता–कार्यकर्ताले विरोध गरेपछि बोल्दाबोल्दै कार्यक्रमस्थलबाट बाहिरिनु परेको छ ।
औरही गाउँपालिकाको शिक्षा शाखाको आयोजनामा भएको कार्यक्रममा सहभागी हुन मन्त्री पोखरेल सिरहा पुग्नुभएको थियो । तर, कार्यक्रममा स्थानीय पार्टी नेतृत्वसँग समन्वय नगरिएको र आफ्नै पार्टीका नेता–कार्यकर्तालाई अपमान गरिएको भन्दै विरोध भएपछि केहीबेर होहल्लाको अवस्था सिर्जना भएको हो ।
स्थानीय रास्वपाका एक नेताका अनुसार कार्यक्रममा सिरहाबाट प्रतिनिधित्व गर्ने दुई जना प्रतिनिधिसभा सदस्य सहभागी भए पनि स्थानीय नेता–कार्यकर्तासँग कुनै प्रकारको समन्वय गरिएको थिएन । ‘अन्तिम समयमा मात्रै खबर गरियो । तर, कार्यक्रममा आएपछि पनि स्थानीय नेता–कार्यकर्तालाई कुनै स्थान दिइएन । उल्टै अपमानजनक व्यवहार गरियो,’ ती नेताले भने । उनका अनुसार औरही गाउँपालिकाका नगर सभापति तथा पत्रकार सन्तोषकुमार यादवलाई समेत कार्यक्रममा आसन ग्रहणका लागि स्थान दिइएन ।
त्यसपछि यादव चुपचाप भिडियो खिचिरहेका बेला मन्त्री पोखरेलसँगै आएका एक व्यक्तिले सुरक्षाकर्मीको सहयोगमा उहाँको मोबाइल खोस्ने प्रयास गरेपछि विवाद थप चर्किएको ती नेताको दाबी छ । ‘बाहिरबाट आएका माननीयहरूलाई स्थान दिइने, तर आफ्नै पार्टीका स्थानीय शीर्ष नेताहरूलाई खबरसमेत नगर्ने ? यो कस्तो समन्वय हो ?’ ती नेताले प्रश्न गरेका थिए ।
उनका अनुसार कार्यक्रममा सहभागी हुन आएका नेता–कार्यकर्तालाई समेत पीए र पीएसओको प्रयोग गरेर बाहिर निकाल्न खोजिएको थियो । सोही कार्यक्रमकोबीच स्थानीय पार्टी नेतृत्वमाथि निरन्तर अपमानजनक व्यवहार भएको भन्दै जिल्ला समन्वय समितिका नेता दिनेश महतोले समेत विरोध जनाउनुभएको थियो । कार्यक्रममा भिडियो खिच्नसमेत रोक लगाएपछि नगर सभापति यादवले आपत्ति जनाउँदै बोल्न थाल्नुभएको थियो । त्यसपछि अन्य नेता–कार्यकर्ताले समेत उहाँको समर्थनमा कार्यक्रमस्थलमा होहल्ला गरेको बताइएको छ ।
जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुन शिक्षा मन्त्री पोखरेल दुई दिनदेखि सिरहामा हुनुहुन्छ । उहाँसँगै सिरहा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य शिव यादव र रास्वपाका सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य पुरुषोत्तम यादवसमेत कार्यक्रममा सहभागी थिए ।
















