सप्तरी,सप्तरीको राजविराज नगरपालिका कार्यालयमा निलम्बित मेयर भीमराज यादवका समर्थकले मंगलवार तोडफोड गरेका छन्।नगरपालिकाकी कार्यवाहक मेयर इसरत परविनले निमित्त प्रमुख प्रशासकीय अधिकृत भोगेन्द्र यादवलाई पदभार ग्रहण गराउन खोज्दा उत्पन्न झडपले उग्र रूप लिएको हो। भ्रष्टाचार मुद्दामा निलम्बित रहेका मेयर भीमराज यादवले विगत तीन दिनदेखि नगरपालिका कार्यालयमा तालाबन्दी गर्दै भ्रष्टाचार भइरहेको आरोप लगाउँदै आएका थिए।

प्रमुख प्रशासकीय अधिकृत डा. श्रवण साहको ठाउँमा शिक्षा शाखाका प्रमुख भोगेन्द्र यादवलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाउने निर्णय भएपछि यो विवाद थप चुलिएको थियो ।मंगलवार कार्यवाहक उपमेयर परविनले ताला फोडेर निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवलाई पदभार ग्रहण गराउन खोज्दा निलम्बित मेयरका समर्थकहरू आक्रामक बनेको थियो। उनीहरूले प्रहरीको बाक्लो उपस्थिति र प्रहरीकै अगाडि नगरपालिका कार्यालयका झ्याल, ढोकालगायतका संरचनाहरू तोडफोड गरेको थियो। प्रदर्शनकारीले नगरपालिकाका लेखापाल शत्रुधनलाल दास र स्वास्थ्यकर्मी सन्तोष दासलाई कुटपिट समेत गरेको बताइएको छ।तोडफोड र झडपका क्रममा निलम्बित मेयरका समर्थकले कार्यवाहक मेयर इसरत परविनलाई समेत कार्यकक्षमै थुनिदिएका थिए। हाल राजविराज नगरपालिकामा बाक्लो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

Leave a Reply