वीरगञ्ज,चित्तलको मासु सहित पर्साको ठोरीबाट २ जना पुरुषहरु पक्राउ परेका छन् । बिहीवार गाउँपालिकाको वडा नम्बर ४ विजयवस्तीमा रहेको नेवा पेट्रोल पम्प नजिकैबाट करिब ५ किलोग्राम मासुसहित २ जना पुरुषहरु पक्राउ परेका हुन् ।
विशेष सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको निकुञ्ज प्रशासनलाई उद्धृत गर्दै कुसुमबाटिका मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बुद्धलाल पाख्रिनले जानकारी दिनुभयो । गोप्य सूचनाको आधारमा निर्मलवस्ती पोस्टका गेम स्काउट बरुणकुमार पाण्डे र नेपाली सेनाले घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरेको र पक्राउ परेका व्यक्तिको नाम भने गोप्य नै राखेको छ ।
जङ्गली जनावरको मासु सहित २ पुरुष पक्राउ गरिएको पुष्टी गर्दै बयान चलिरहेकोले नाम गोप्य राखिएको पर्सा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत सन्तोषकुमार भगतले बताउनुभयो । पक्राउ परेका व्यक्तिहरु जीराभवानी गाउँपालिका– १ का स्थायी बासिन्दा भएको बताइएको छ ।
















