काठमाण्डौ – दैलेखमा जीप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै ज्यान गएको छ । दुर्घटनामा अरू ५ जना गम्भीर घाइते भएका छन् ।सुर्खेतबाट ८ जना यात्रुसहित कालीकोटको शुभकालिका–६ हाउडीतर्फ गुडिरहेको जीप दैलेखको भैरवी गाउँपालिका वडा नम्बर ७ कालगौडाको भित्री सडक खण्डमा दुर्घटना भएको हो । ज्यान गुमाउने र सबै घाइते शुभकालिका गाउँपालिकाका बासिन्दा हुन् ।

दुर्घटनामा जीप चालक शुभकालिका–५ का ३२ वर्षीय कलबहादुर रोकाया, शुभकालिका–४ सुनारवाडाका ३८ वर्षीय नेत्र सुनार र शुभकालिका–६ हाउडीकी ६५ वर्षीया पुल्तीसरा कामीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।५ जना घाइतेलाई उपचारका लागि दैलेख जिल्ला अस्पताल लगिएको छ । जीप अनियन्त्रित भएर सडकबाट झन्डै ३०० मिटर तल झरेको प्रहरीले जनाएको छ ।
दाङमा टिपरको ठक्करबाट बाबुछोराको ज्यान गयो
दाङ – दाङमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।आज बिहान ६ बजेतिर तुलसीपुरको गुल्म चोक पार गरेर केही उत्तरतर्फ विपरीत दिशामा रहेका टिपर र मोटरसाइकल ठोक्किएका हुन् । दुर्घटनामा लमही नगरपालिका– ५ का ३५ वर्षीय मनोज नेपाली र उहाँका ५ वर्षीय छोरा मिनराजको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) होमबहादुर पराजुलीले जानकारी दिनुभयो ।मनोजकी श्रीमती ३४ वर्षीया अनुसाको उपचार भइरहेको छ । मनोज बिदाका बेलामा तुलसीपुर– ६ मा रहेको ससुराली आएका र आज छोरालाई विद्यालय पठाउनुपर्ने भएकाले बिहानै हिँडेकामा केहीबेरमै दुर्घटनामा परेका प्रहरीले जनाएको छ ।

Leave a Reply