सिमरा,बाराको परवानीपुर गाउँपालिका– ५ बहुवरीमा सडक ढलान कार्यमा अनियमितता भएको आरोप लगाउँदै भिडियो खिचिरहेका स्थानीय युवामाथि वडा अध्यक्षले हातपात गरेको घटना सार्वजनिक भएको छ ।स्थानीयका अनुसार बहुवरी क्षेत्रमा भइरहेको सडक ढलान निर्माण कार्य गुणस्तरहीन भएको भन्दै केही युवाहरूले मोबाइलबाट भिडियो खिच्दै गरेका युवाहरूमाथि वडा नम्बर ५ का वडा अध्यक्ष रामेश्वरप्रसाद साह कलवारले दुव्र्यवहार गर्दै हातपात गरेका हुने । वडा अध्यक्ष कलवारले युवामाथि गरेको हातपातको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
सुरुमा वडा अध्यक्ष कलवारले मोबाइलको क्यामरामा हातले छेकेको र पछि युवामाथि थप्पठ हानेको दृश्य भिडियोमा देखिएको छ ।घटनापछि स्थानीयवासी केही समय तनावको अवस्था सिर्जना भएको बताइएको छ । प्रत्यक्षदर्शीहरूका अनुसार सडक ढलानको गुणस्तर तथा निर्माण प्रक्रियालाई लिएर स्थानीयवासीले लामो समयदेखि प्रश्न उठाउँदै आएका थिए । युवाहरूले सार्वजनिक सरोकारको विषयमा भिडियो खिचिरहेको अवस्थामा उनीहरूमाथि आक्रमण हुनु दुःखद भएको स्थानीयको भनाई छ ।
स्थानीयहरूले युवामाथि हातपातको घटना र निर्माण कार्यको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही माग गरेका छन् । साथै विकास निर्माणका काममा पारदर्शिता कायम गर्नुपर्ने आवाजसमेत उठ्न थालेको छ ।सौजन्य तस्बिर



















