हेटौडा २३ भदौ ।
काठमान्डौका मेयर बालेन्द्र साहले अनाधिकृत संरचनामा डोजर चलाउने अभियान रोकेका छैनन् । उनले पार्किङ क्षेत्रका र फुटपाथमा बाटो कब्जा गरी ब्यापार गर्दै बसेकाहरुलाई हटाइरहेका छन् । उनको कामको तारिफ गर्दै अहिले देशका विभिन्न स्थानीय तहले उनको कामको अनुसरण गरिरहेका छन् ।
यता बागमती प्रदेशको राजधानी हेटौंडामा भने ब्यापारीले सडक पेटी नै कब्जा गरेर वर्षौदेखि ब्यापार गरेर बसेका छन् । हेटौंडाको मुख्य बजार सिमा चोकदेखि बुद्दचोक, बुद्धचोकदेखि पुर्व, पच्चिममा कान्तिराज पथ लगायतका क्षेत्रमा सडक पेटीनै कब्जा गरेर व्यापारीले पसल राखेका छन् । फलफुल, भाडा, कपडा पसलदेखि हार्डवेर व्यवसायीले पनि सामान सडक पेटी ढाकेर राख्ने गरेका छन् भने कतिपयले पेटीमै ढलान गरेर छाप्रो हालेर ब्यापार गरिरहेका छन् ।
सडकपेटी नै कब्जा गरेर वर्षौंदेखि ब्यापार गर्दै आइरहेकालाई हेटौंडा उपमहानगरपालिकाले भने नदेखेको जस्तो गरिरहेको छ । सडक किनारामा डोकोमा साग बच्ने, ठेलामा मकै पोल्नेलाई बेलाबेला हेटौंडा उपमहानगरको नगर प्रहरीले नियन्त्रणमा लिने र जरिवाना गर्ने गर्छ, तर पेटीमा सर्वसाधारण हिड्नै समस्या हुनेगरी बसेका व्यवसायीलाई भने कुनै कारवाही हुने गरेको छैन ।
काठमाडौंमा मेयर बालेन्द्र साहले गरेको जस्तो काम हेटौंडामा पनि सुरु गर्नु पर्छ भनेर नागरिकले आवाज पनि उठाएका थिए, तर निर्वाचित भएर आएको १ सय दिन बितिसक्दा पनि यसप्रति हेटौंडा उपमहानगरपालिकाका मेयर–उपमेयरले खासै चासो देखाएका छैनन् ।
बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौंडामा सडक उस्तै सांघुरा छन् । त्यसमा सडकपेटीहरु झन् सांघुरा छन् । त्यसैमा व्यापारीले सडकमै ब्यापर गरिरहेका छन् । यसले बाटो हिड्ने सर्वसाधारणलाई हिड्न नै समस्या त भैरहेको छ अर्को तर्फ बजार नै कुरूप देखीइरहेको छ । यस तर्फ हेटौंडा उपमहानगरपालिकाको छिट्टै नजर पुग्न जरुरी छ ।



















