कलैया,बाराको कलैया उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सार्वजनिक तथा सरकारी जग्गामा भएको अतिक्रमण हटाउन ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ ।उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामविनयकुमार सिंहले मंगलबार सूचना जारी गर्दै सरकारी स्वामित्वका जग्गाहरूको संरक्षण र उचित व्यवस्थापनका लागि सूचना जारी गर्नुभएको हो ।

उपमहानगरपालिकाका अनुसार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्रा तथा नेपाल सरकार मन्त्रिपरिषद्को ‘एक सय बुँदे कार्ययोजना’ अन्तर्गत बुँदा नम्बर ९२ अनुसार कलैयामा पनि अतिक्रमण हटाउने प्रक्रिया अघि बढाइएको हो ।उपमहानगरपालिकाले सडक, खोला, नाला, ऐलानी तथा पर्ती जग्गा, पार्क, गौचर, विद्यालय, सार्वजनिक पोखरी, धार्मिक स्थल, बजार क्षेत्र, मठमन्दिर तथा इनार आसपास निर्माण गरिएका घर, टहरा, घेरा वा अन्य संरचना ३५ दिनभित्र स्वेच्छाले हटाउन सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।

तोकिएको समयसीमाभित्र अतिक्रमण नहटाइ उपमहानगरपालिकाले कानुनी प्रक्रियामार्फत संरचनाहरू हटाउने र त्यसको खर्च सम्बन्धित पक्षबाटै असुल गरिने सूचनामा उल्लेख छ ।साथै, उपमहानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण नगर्न र जोखिमयुक्त स्थानमा बसोबास नगर्न नागरिकलाई सचेत गराउँदै नगरको सम्पत्ति संरक्षणमा सहयोग गर्न अपिल पनि गरेको छ ।

Leave a Reply