सिमरा,पर्सा राष्ट्रिय निकुञ्जको अम्लेखगंज हात्तीसारका पछुवाहरुलाई छावाको स्याहारसुसारमा हिजोआज भ्याइनभ्याइ छ ।हात्तीसारको राप्तीकलीले एक महिनाअघि जन्माएको छावाको हेरचाह र स्याहार सुसारमा पछुवाहरुलाई भ्याइनभ्याइ भएको हो । पछुवाहरु छावासंगै सुत्केरी राप्तीकलीको लागि पनि आहारको व्यवस्थापनमा ब्यस्त बनेका हुन ।

करिब २२ महिनाअघि जंगली हात्तीको संसर्गबाट गर्भवती भएकी राप्तीकलीले चैत २ गते आफ्नो पहिलो सन्तानका रूपमा रामचन्द्र गजलाई जन्म दिएको हो ।चैत १३ गते रामनवमीको दिन पारेर निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाकै नामबाट छावाको नामकरण गर्नुभएको हो । हात्ती प्रजातिमा भाले जन्मिए नामको पछाडि ‘गज’ र पोथी जन्मिए ‘कली’ राख्ने चलन छ ।

दुई दशकदेखि अम्लेखगञ्ज हात्तीसारका पछुवा पवन सिंहले गर्भधारणका लागि चाहिने बलिष्ठ भाले हात्ती निकुञ्जमा नभएकाले गर्भधारणका लागि जंगली भाले हात्ती नै कुर्नुपर्ने बाध्यता रहेको बताउनुभएको छ । उहाँका अनुसार हात्तीले ४५ देखि ५० वर्षसम्म बच्चा जन्माउनसक्छ ।पर्सा राष्ट्रिय निकुञ्जअन्तर्गत प्रतापुर, भाटा र अम्लेखगञ्जमा गरी कुल ८ वटा हात्ती छन् । जसमा २ वटा भाले र ६ वटा पोथी हात्ती छन् । ती ६ वटा पोथी हात्तीमध्ये ४ वटा वयस्क छन् ।

सामान्यतया १० वर्ष उमेर पुगेपछि हात्ती गर्भधारणका लागि योग्य मानिन्छ । तर, प्रजननका लागि निकुञ्जसँग योग्य भाले हात्ती नहुँदा राप्तीकलीले २८ वर्षको उमेरमा पहिलो सन्तान दिएकी हुन् ।निकुञ्जअन्तर्गतका हात्तीसारहरूमा पशु चिकित्सकसहित ३६ जना कर्मचारी कार्यरत छन् । निकुञ्जले हात्तीसारमा रहेका हात्तीहरूलाई पर्यटकका लागि जंगल सफारीमा प्रयोग गर्दै आएको छ ।

निकुञ्जमा वार्षिक करिब १ हजार पर्यटक हात्ती सफारीका लागि आउने गर्छन् । पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत खतिवडाले निकुञ्जका हात्तीसारहरू जंगली हात्तीको प्रजनन केन्द्रका रूपमा विकास हुँदै गएको बताउनुभयो । उहाँले समूहबाट छुट्टिएका जंगली हात्तीहरू प्रजननका लागि यहाँ आउने गरेका बताउनुभयो । पर्सा राष्ट्रिय निकुञ्ज जंगली हात्तीका लागि प्रख्यात मानिन्छ । यो मधेस प्रदेशकै एक मात्रै निकुञ्ज हो ।पर्सा–चितवन कम्प्लेक्सअन्तर्गत यस भेगमा ६२ वटा जंगली हात्ती छन् ।

Leave a Reply