कृष्णमोहन साह
सेढवा,पर्साको जिराभवानी गाउँपालिकामा शास्त्रीय संगीत कक्षा तालिमको उद्घाटन भएको छ। शास्त्रीय संगीत अध्यापन प्रतिष्ठान उपसमितिको आयोजनामा सो शास्त्रीय संगीत कक्षा शुरु भएको हो ।मधेस प्रदेश सांसद शंकरप्रसाद चौधरीले कार्यक्रमको उद्धाटन गर्दै वर्तमान अवस्थामा समुदायबाट शास्त्रीय संगीत लोप भइरहेको हुँदा परम्परागत रितिरिवाज संरक्षणको लागि कक्षा संचालनले निकै सहयोग हुने बताउनुभयो । अहिले कुनै पनि अभिभावकले आफ्ना छोराछोरीलाई विभिन्न क्षेत्रको ज्ञान प्रदान गर्न तयार हुने गरेको भएपनि संगीत सिकाउन भने कसैले पनि चासो नदेखाएको सांसद चौधरीले बताउनुभयो ।
युगौदेखि मनोरञ्जन तथा अन्य शुभकार्यमा चल्दै आएको शस्त्रीय संगीत प्रयोग विहिन बन्दै गएकाले यसको उत्थान गर्न हरेक क्षेत्रबाट लाग्न सांसद चौधरीले आग्रह गनुभयो ।यस कार्यका लागि प्रदेश सरकारको तर्फबाट हुनसक्ने सहयोगको लागि आफूले पहल गर्ने सांसद चौधरीले बताउनुभयो । कार्यक्रममा जिराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरीले भोजपुरी अश्लिल गित संगितले शास्त्रीय संगितलाई विस्थापित गरी समाजमा विकृति ल्याइरहेको बताउनुभयो ।सभ्य समाज निर्माण गर्नका लागि समाजले शास्त्रीय संगीत अपनाउनु पर्ने एक मात्र बिकल्प रहेको अध्यक्ष चौधरीले बताउनुभयो । कक्षा संचालनबाट शास्त्रीय संगीतका लागि आवश्यक जनशक्ति प्राप्त हुने कुरामा आशाादी रहेको अध्यक्ष चौधरीले बताउनुभयो ।
अहिले समाजमा संगीतकार तथा गायकले पनि राम्रो आम्दानी गरी रहेका उदाहरण रहेको बताउदै अध्यक्ष चौधरीले शस्त्रीय संगीतको विकासको लागि आवश्यक सहयोग गर्न पालिका सधै तैयार रहेको जानकारी दिनुभयो ।
जिराभवानी गाउँपालिका वडा नम्बर ३ नौकाटोलामा रहेको सामुदयिक भवनमा भएको कार्यक्रममा शास्त्रीय संगीत अध्यापन प्रतिष्ठान उपसमितिका अध्यक्ष तथा वडा नम्बर ३ का वडाध्यक्ष सुरज राय थारुको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा उपाध्यक्ष रेखा चौधरी, वडाध्यक्ष रामशरण खवास, महादेव महतो थारु, दारा सिंह राउत थारु लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।कार्यक्रमको सहजीकरण शिक्षक दिनानाथ महतोले गर्नुभएको थियो भने स्वागत मन्तव्य आयोजक संस्थाका सचिव जयप्रकाश महतोले गर्नुभएको थियो । शास्त्रीय संगीतको कक्षा संचालन असोज १२ गतेदेखि हुने आयोजकले जानकारी गराएको छ ।