झापा — एपिएफ क्लब ले झापाको भद्रपुरमा आयोजित ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।

फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लब लाई १–० गोल अन्तरले पराजित गर्दै एपिएफ च्याम्पियन बनेको हो।

उपाधिसँगै एपिएफले ११ लाख रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्‍यो भने उपविजेता आर्मीले ५ लाख रुपैयाँमा चित्त बुझायो।

एपिएफको जितमा निर्णायक गोल रश्मिकुमारी घिसिङले गरिन्। खेलको ७२औँ मिनेटमा कप्तान अनिता बस्नेतले दिएको पासलाई उनले हेडमार्फत जाली चुमाएकी थिइन्।

खेलभरि बल पोजिसनमा पकड बनाएको एपिएफले थप अवसर सिर्जना गरे पनि स्कोर बढाउन सकेन। आर्मीका स्ट्राइकरहरू एपिएफको मजबुत डिफेन्सविरुद्ध प्रभावकारी बन्न नसक्दा टोली उपविजेतामै सीमित रह्यो।

खेलको प्लेयर अफ द म्याच एपिएफकी सरु लिम्बु घोषित भइन्। उनले ११ हजार रुपैयाँ पुरस्कार पाइन्।

प्रतियोगिताकी सर्वोत्कृष्ट खेलाडी एपिएफकी रेनुका नगरकोटी भइन्। उनले १ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन्।

यसैगरी, एपिएफकी अञ्जना राना मगर उत्कृष्ट गोलकिपर, गीता राना उत्कृष्ट डिफेन्डर घोषित भइन् भने आर्मीकी दिपा शाही उत्कृष्ट मिडफिल्डर बनिन्। आयोजक चन्द्रगढी युथ क्लब की सबनम राई राइजिङ प्लेयर घोषित भइन्। एपिएफकी रश्मिकुमारी घिसिङ सर्वाधिक गोलकर्ता बनिन्। यी सबै विधाका विजेताले जनही २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

वैशाख ५ गतेदेखि सुरु भएको प्रतियोगितामा फाइनलमा पुगेका दुई टोलीबाहेक आरएस पोखरा फुटबल क्लब, भुटानको थिम्पु सिटी क्लब, चर्च ब्वाइज युनाइटेड, नेपाल पुलिस फुटबल क्लब, आयोजक चन्द्रगढी युथ क्लब, भारतको रानी लक्ष्मीबाई स्पोर्ट्स एकेडेमी, संकटा फुटबल क्लब र ओखलढुंगाको पदमा स्पोर्ट्स क्लबको सहभागिता रहेको थियो।

विजेता तथा उपविजेतालाई प्रमुख अतिथि तथा मुख्य प्रायोजक ओम साई पाथिभरा हस्पिटलका अध्यक्ष दीपककुमार पोखरेल, भद्रपुर नगरप्रमुख गणेश पोखरेल, अर्जुनधारा नगरप्रमुख बलदेव गोम्देन, भद्रपुर झापा गोल्डकपका अध्यक्ष दीपेश ढकाल तथा आयोजक चन्द्रगढी युथ क्लबका अध्यक्ष रोहित सुब्बालगायतले पुरस्कार वितरण गरेका थिए।

Leave a Reply