वीरगञ्ज,दोस्रो संस्करणको वीरगन्ज गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिन आइतवार भएको खेलमा सहलेश फुटबल क्लब सिराहाले आफ्नो पहिलो जित निकालेको छ ।शनिवारदेखि आदर्शनगर रंगशालामा जारी प्रतियोगितामा सहलेश फुटबल क्लबले टाइब्रेकरमा ५–४ गोलअन्तरले संकटा फुटबल क्लब काठमाडौंलाई पराजित गरेको हो। ९० मिनेटको निर्धारित समय सकिँदा पनि दुबै टोलीले बराबरी खेलेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

टाइब्रेकरमा संकटाका कप्तान सुदिप गुरुङ, राजिव लोप्चन, ईसेरिङ लामा र सोम कर्लोसले बललाई जाली चुमाउँदा राम थापाले बाहिर हानेका थिए । सहलेशका खेलाडीहरु एमबाउन अनिसेट, सुमित श्रेष्ठ, अमन लामा, शिसिस लेखी र जय गुरुङले गोल गरे ।खेल सुरु भएको ५औँ मिनेटमा सहलेश फुटबल क्लबका फोफानो ब्राहिमनले फ्रि बललाई सदुपयोग गर्न नसक्दा पोष्ट बाहिर बल गएको थियो । त्यसको लगत्तै संकटाका गोलकिपर विशाल केसीले अर्को गोलको उत्कृष्ट बचाउ गरेपछि खेल रोमान्चक भएको थियो ।टाइब्रेकरमा उत्कृष्ट बचाउ गरेर टिमलाई जित दिलाएका सहलेश फुटबल क्लबका गोलकिपर विशाल सुनार ‘प्लेयर अफ दि म्याच’ घोषित भए । उनले नगद १० हजारसहित शिल्ड प्राप्त गरे ।
सोमवारको खेल नेपाल पुलिस क्लब र बागमती फुटबल क्लब सर्लाहीबीच हुने छ ।


















