निजगढ,अर्थ मन्त्रालयले दशैँको मुखमा समेत उखुको अनुदान रकम निकास गरेर नपठाएपछि बाराका उखु किसान निराश बनेका छन ।गएको वर्ष नै चिनी उद्योगलाई बिक्री गरेको उखुको अनुदान रकम अझै नपाएपछि किसान निराश बनेका हुन् ।सरकारले गत वर्ष ०७९÷८० मा उखुको मूल्य प्रतिक्विन्टल ६१० रुपैया निर्धारण गरेको थियो । त्यसमध्ये चिनी उद्योगले ५४० रुपियाँ भुक्तानी गर्ने र बाँकी ७० रुपियाँ सरकारले अनुदानबापत उपलब्ध गराउने उल्लेख छ । उखु बिक्री गरेको सात महिना भइसक्दा समेत उखु किसानलाई सरकारले अनुदान रकम नपठाएको हो । नयाँ रोपिएको उखु गोडमेल गरेर मलखाद गर्ने बेला भएको र चाडपर्व नजिकिँदै गरेको समयमा सरकारले अनुदान रकम नपठाउँदा किसान चिन्तित बनेका हुन् ।कलैया उत्तरझिटकैयाका किसान इन्द्रदेव कुशवाहाले चाडपर्वका बेला अनुदान रकम नदिएर सरकारले उखु किसानमाथि अन्याय गरेको गुनासो गर्नुभयो । उद्योगले बेलैमा रकम भुक्तानी नगर्दा सरकारसँग हारगुहार गर्दै आन्दोलनमा उत्रने आफूहरू सरकारले नै अनुदान रकम नदिँदा निरीह भई बस्नु परेको उहाँले बताउनुभयो ।उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले भने पटक पटक मन्त्रालयमै पुगेर ताकेता गर्दा पनि सरकारले मधेसका जिल्लामा अनुदान रकम पठाउन आलटाल गर्दै आइरहेको जानकारी दिनुभएको छ ।

Leave a Reply