निजगढ,मधेस प्रदेश नेत्रहीन क्रिकेट संघको आयोजनामा दृष्टिविहीन क्रिकेट खेलाडीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले ३ दिने विशेष प्रशिक्षण कार्यक्रम हिजोदेखि सुरु भएको छ ।
निजगढ नगरपालिका वडा नम्बर ६ स्थित खेलकुद मैदानमा हिजो प्रशिक्षण सुरु गरिएको हो ।

यो प्रशिक्षण कार्यक्रम २०८२ साल बैशाख १ गतेदेखि ३ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । प्रशिक्षण सम्पन्न भएपछि सहभागी खेलाडीहरूलाई चितवनमा बैशाख ५ गतेदेखि ८ गतेसम्म सञ्चालन हुने अन्तर प्रदेश स्तरीय राष्ट्रिय प्रतियोगितामा सहभागी गराइने जनाइएको छ ।यसअघि संघले २०८२ साल चैत २० गतेदेखि २५ गतेसम्म वीरगञ्ज महानगरपालिका– ४ स्थित मून लाइट बोर्डिङ स्कूलमा बन्द प्रशिक्षण सम्पन्न गरेको थियो । जसले खेलाडीहरूको दक्षता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ ।संघका पदाधिकारीहरूका अनुसार यस्ता प्रशिक्षण कार्यक्रमहरूले दृष्टिविहीन खेलाडीहरूलाई राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न अझ सक्षम बनाउने विश्वास गरिएको छ ।



















