वीरगञ्ज,अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, पर्साका चार जना तत्कालीन मालपोत अधिकृत र एक जना नायब सुब्बा (स्वर्गीय) का हकदारसहित पाँच जना कर्मचारीविरुद्ध झण्डै २ करोड ९३ लाख बढी सरकारी राजस्व हिनामिना गरेको आरोपमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।

यो घटना आर्थिक वर्ष २०७०-७१ मा मालपोत कार्यालय पर्साको रजिस्ट्रेसन फाँट ‘ग’ मा भएको आयोगले जनाएको छ ।आयोगले चैत्र १८ गते जारी गरेको प्रेस विज्ञप्तिअनुसार फाँटमा एकै नम्बरका दोहोरो र तेहेरो रजिस्ट्रेसन नम्बर राखी एकभन्दा बढी लिखत पारित गरिएको पाइएको छ । कम राजस्व रकमका लिखतहरू मात्र बैंक दाखिला गरी बढी राजस्व कायम भएका लिखतहरूबाट प्राप्त रकम लेखा फाँटमा नबुझाई हिनामिना गरिएको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ ।

कुल २ करोड ९३ लाख ६८ हजार ५ सय ६५ रुपैयाँ राजस्व हिनामिना भएको अख्तियारको दाबी छ ।रोपपत्रमा तत्कालीन मालपोत अधिकृतहरू हरिनारायण मिश्र, भूपबहादुर बोगटी, पदमप्रसाद अर्याल र सुरेन्द्रप्रसाद राव कुर्मीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगो कैद र दोब्बर जरिवाना माग गरिएको छ ।यस्तै, स्वर्गीय नायब सुब्बा किरणप्रसाद उपाध्यायको हकमा उनका छोराहरू राजकिशोर प्रसाद उपाध्याय, गौतमप्रसाद उपाध्याय, पशुपतीप्रसाद उपाध्याय र मुरारीप्रसाद उपाध्यायबाट हिनामिना भएको कुल बिगो असुलउपर गर्न मागदाबी लिइएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो ।

Leave a Reply