बीरगंज ६ असोज ।
प्रहरीले गुणस्तरहिन घ्यू उत्पादन गर्ने बाराको दुई उद्योगमा सिलबन्दी गरेको छ । बाराको फेटा गाउंपालिका वडा नं. २ जगतपुर टोलमा संचालित गहवामाई वेकरी सटि· रिपिरि· उद्ययोग र जय मां लक्ष्मी डेरी उद्ययोगमा शिलबन्दी गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक होमेन्द्र वोगटीले बताए ।
प्रहरीले उद्योगबाट गुणस्तरहिन तयारी घ्यू ११६१ लिटर, बेकरी १६०० लिटर र कच्चा पदार्थ १५० लिटर बरामद समेत गरिएको छ । बुधबार दिउंसो गुणस्तरहिन घ्यू उत्पादन भईरहेको सूचनाको आधारमा जिल्ला प्रशासन कार्यालय बारा, खाध प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पर्सा, उपभोक्ता संरक्षण मञ्च नेपालका प्रतिनिधि र जिल्ला प्रहरी कार्यालय बाराका सिनियर प्रहरी अधिकृत समेतको सहभागितामा खटिएको संयुक्त अगुमन टोलीले दुबै उद्योगमा अनुगमन गर्दा गुणस्तरहिन भेटिएपछि शिलबन्दी गरेको हो ।
उद्योगमा अनुगमन गर्दा उक्त उद्योगमा रहेको उत्पादित विभिन्न ब्राण्डका तयारी घ्यू तथा कच्चा पदार्थ पाइएको हुंदा स्थानिय प्रतिनिधि समेतको रोहबरमा निम्न उल्लेखित परिमाणमा उत्पादित तयारी तथा कच्चा पदार्थ सहित उद्योगमा सिलबन्दी गरी थप अनुसन्धान कार्य अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय बाराका अपराध अनुसन्धान शाखाले जनाएको छ ।
सिलबन्दी गरिएको उद्योगबाट गोकुल लेखिएको ५०० ग्रामको १२७७ बट्टा (६३८.५ लिटर), सोल्टी लेखिएको ५०० ग्रामको ४५९ बट्टा (२२९.५ लिटर) , रोयल लेखिएको ५०० ग्रामको ५५० बट्टा (२७५ लिटर) , मां लक्ष्मी लेखिएको १ लि. को १८ बट्टा (१८ लिटर) र सोर्टेनी लेखिएको ८० कार्टुन बेकरी (१६०० लिटर) तयारी तथा कच्चा पदार्थ बरामद भएको छ ।
यसैगरी घ्यू तयारको लागि राखिएको प्रति ५० लिटर भएको ३ ड्रम कच्चा पदार्थ १५० लिटर समेत बरामद भएको प्रहरी उपरिक्षक वोगटीले बताए । नेपालीहरुको चाड नजिकै कम लगानीमा बढी मुनाफा गर्नको लागि उपभोक्ताहरुको धनजन संग खेलवाड गर्दै बजारमा अहिले गुणस्तरहिन खाद्यन्न बस्तु उत्पादनमा बढेको स्थानिय बताउंछन । प्रहरी तथा सरोकारहरु नियमित अनुगमन बढाए मात्र यस्ता गतिविधि नियन्त्रण गर्न सकिन्छ ।


















