कलैया,बारामा सञ्चालित ‘निधि आवास’ कार्यक्रममा व्यापक आर्थिक चलखेल भएको रहस्य उजागर भएको छ ।
मधेश प्रदेश सरकारले दलित, मुस्लिम र गरिब जनताको आवास निर्माणका लागि नेपाली कांग्रेसका नेता दिवंगत महेन्द्र नारायण निधिको नाममा सञ्चालन गरेको ‘महेन्द्र नारायण निधि आवास’ कार्यक्रममा प्रदेश सदस्यदेखि कार्यालय प्रमुखसम्मको मिलेमतो भएको पाइएको हो ।

कार्यक्रम सञ्चालनका लागि मधेश प्रदेश सरकारले भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतमा पूर्वाधार विकास कार्यालय बारामार्फत ३५८ घर निर्माणका लागि १९ करोड ९९ लाख रकम बिनियोजन गरेको थियो ।
आर्थिक वर्ष २०८०÷८१ मा ३५८ घर निर्माणका लागि बारा क्षेत्र न.२ (ख) बाट निर्वाचित प्रदेश सभा सदस्य बच्चा राउत अहिरको संयोजकत्वमा जिल्लाका सम्पूर्ण प्रदेश सभा सदस्यहरु सदस्य रहेको जिल्ला स्तरीय छनौट समितिले ३५८ घरको सट्टा १३ सय घर छनौट गरी निर्माण कार्य अगाडी बढाउने निर्णय गरेपछि अनियमितता शुरु भएको हो ।

३५८ घरको लागि बजेट बिनियोजन भएकोमा छनौट समितिले १३ सय घर छनौट गर्नु र कार्यालय प्रमुख राजेन्द साहले पनि सोही बमोजिम कार्यादेश जारी गर्नुले उनीहरुको मिलेमतो रहेको आरोप लागेको हो । यसको लागि कार्यालय प्रमुख साहले एक घरबाट ३० हजार देखि ८० हजार रुपैयाँसम्म रकम असुल गरेर घर छनौट गरेको स्थानीयको आरोप छ ।
निःशूल्क घर बनाइदिने आश्वासनमा ८० हजार रुपैयाँसम्म लिइएको र घर भत्काएको चार महिना बित्नै लाग्दा पनि सरकारले बजेट नदिएपछि घर भत्काइएका परिवार वर्षातको समयमा खुला आकाशमुनी पाल टाँगेर बस्न बाध्य भएको पीडित परिवारले बताएका छन् । मन्त्रालयका सूचना अधिकारी सन्तोषकुमार यादवले बारामा यस योजना अन्तर्गत प्रत्येक घर निर्माणको लागि पाँच लाख ५० हजारको दरले रकम उपलब्ध गराइएको जानकारी गराउनुभयो ।

Leave a Reply