सिमरा,स्थानीय उत्पादनको बजारीकरण र स्वरोजगारमुलक सिप सिकाउने उदेश्यसहित बाराको सिमरामा सारथी स्वरोजगार तथा बजारीकरण संघको उद्घाटन भएको छ ।जीतपुरसिमरा वडा नम्बर २ स्थित सिमरामा रहेको संघको कार्यालयको एक समारोहकाबीच मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरीले उद्घाटन गर्नुभएको हो ।

कार्यालयको उद्घाटन गर्दै प्रदेशसभा सदस्य चौधरीले स्थानीय उत्पादनको बजारीकरण, प्रवर्द्धन र स्वरोजगार बनाउन विभिन्न सीपमुलक तालिम दिने उदेश्यसहित स्थापना भएको संघबाट आर्थिक, सामाजिक रुपान्तरणमा टेवा पुग्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

बजारीकरण र प्रवद्र्धन हुन नसकेका कारण स्थानीय स्रोतसाधनको प्रयोगबाट हुने उत्पादन, धार्मिक एवम् सांस्कृतिक महत्व बोकेका हस्तकला बजारमा नदेखिएको भन्दै चौधरीले यस्ता उत्पादनलाई प्रवर्द्धन गर्न आवश्यक रहेको बताए । चौधरीले घरमै बसेर पनि स्वरोजगार बन्न सकिने र आयआर्जन गर्न सकिने गरी संघले सिपको विकास गर्नेमा आफू आशावादी रहेको बताएका छन् ।

संघको उद्घाटन कार्यक्रममा पूर्व प्रदेशसभा सदस्य सुन्दर विश्कर्मा, सीता गुरुङ, संघकी अध्यक्ष सरस्वतीदेवी चौधरीलगायतले मन्तब्य राखेका थिए । जीतपुरसिमरा उपमहानगरपालिकाकी पूर्वउपप्रमुख समेत रहेकी चौधरीले स्थानीय स्तरमा सीपको विकास र स्थानीय उत्पादनको प्रवर्द्धन अपरिहार्य रहेको बताउँदै ती उदेश्यसहित संघको स्थापना भएको बताउनुभयो ।संघले महिलाहरुलाई लक्षित गरि विभिन्न सीपमुलक तालिम गराउने, स्थानीय उत्पादनको प्रयोगबाट मानव जीवनको प्रयोगमा आउने सामाग्रीको निर्माण गर्न सीप सिकाउने, स्थानीय संस्कृति झल्काउने हस्तकलाको निर्माण गर्न तालिम दिने र ती स्थानीय उत्पादनको बजारीकरण गर्न सहजीकरण गर्ने चौधरीले बताउनुभएको छ ।

Leave a Reply