राजन कुमार बानिया
पोखरिया,जनप्रतिनिधि र कर्मचारीबीच विवाद भइरहने पर्साको धोबिनी गाउँपालिकामा पुनः एक कर्मचारीमाथि जनप्रतिनिधिले दुव्र्यवहार गरेका छन् ।
गाउँपालिकाका योजना शाखा प्रमुख पप्पु पटेललाई वडा नम्बर १ की वडा सदस्य शान्तिदेबीका श्रीमान धर्मन राउत कुर्मीसहित ठेकेदार र स्थानीयले गाली गलौजसहित धम्की दिँदै २ घण्टासम्म कोठाभित्र थुनेर दुव्र्यवहार गरेका हुन् ।
कार्यकक्षमै गएर उनीहरुले गाली गलौज गर्नुका साथै ज्यान मार्ने धम्की दिएको योजना शाखाका प्रमुख पटेलले बताउनुभयो ।
गाउँपालिकाको मोटर खरिदको योजनामा आफू नजिकका ठेकेदारलाई दिनका लागि प्रयास गर्दै आएका वडा सदस्यका श्रीमानले अरुलाई ठेक्का रोक्नको लागि दवाव दिएको बुझिएको छ ।
अन्य व्यवसायीको पनि कोटेशन फारम बुझेको भन्दै आफूमाथि दुव्र्यवहार गरिएको पटेलको भनाइ छ ।
स्रोतका अनुसार धर्मनले ठेकेदार पक्षबाट कमिशन लिएर उनलाई नै मोटर खरिदका लागि जिम्मा दिने लगभग पक्कापक्की गरेका थिए । यता प्रक्रियाअनुसार ती ठेकेदारभन्दा सस्तोमा कोटेशन दिने देवरीमाई सप्लायर्सलाई कोटेशन परेपछि उनीहरुले योजना प्रमुख पटेलमाथि आक्रोश पोखेका हुन् ।
सो समूहले बिहिवार दिउँसो २ बजेदेखि ४ बजेसम्म कार्यकक्षमा पटेललाई घेरा हाली राखेका थिए । ४ बजे प्रहरी चौकी लङ्गडीबाट प्रहरी नायब निरीक्षक (सई) रामपुकार शर्माको टोली पुगेर पटेललाई घेराबाट बाहिर निकालेको सई शर्माले बताउनुभयो ।
यता वडा सदस्यका श्रीमान धर्मनले भने आफ्नो वडाको योजना आफ्नै ठेकेदारले पाउनु पर्ने दावी गरेका छन् । सोही विषयमा कुरा गर्न जाँदा बङ्ग्याएर दुव्र्यवहारको आरोप लगाएको कुर्मीको भनाइ छ ।
कर्मचारीमाथि लछारपछार र कुटपिटसमेत गर्ने प्रयास गरेको भन्दै नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति पर्साले पनि घटनामा आपत्ति जनाएको छ । संगठनका पर्सा जिल्ला अध्यक्ष अमितकुमार गिरीले यस्ता किसिमका क्रियाकलापले राष्ट्रसेवक कर्मचारीको मनोवल कम हुने र यसले नियमित काममा पनि प्रभाव पर्ने बताउनुभयो । अभद्र व्यवहार गर्ने कुर्मीमाथि कारबाही गरी योजना शाखाका प्रमुख पटेललाई न्याय दिन पनि संगठनले विज्ञप्तीमार्फत माग गरेको छ ।



















