दुष्यन्त चौधरी
कलैया , ०७ फागुन  । प्रजातन्त्र दिवसको अवसर पारेर जेनजी युथ अफ बाराले “युवाको चाहना : स्वच्छ र सफा कलैया” भन्ने नाराका साथ कलैया उपमहानगरपालिकाका विभिन्न व्यस्त क्षेत्रहरूमा सरसफाइ अभियान सञ्चालन गरेको छ । अभियान अन्तर्गत बजार क्षेत्र, बैंक रोड, भरत चौक, दरबार चौक, प्रादेशिक  अस्पताल परिसर, गुप्ता पेट्रोल पम्प लगायतका विभिन्न सार्वजनिक स्थानहरूमा डस्टबिन राखिएको छ ।

बढ्दो शहरीकरण र बजार क्षेत्रमा जथाभावी फोहोर फाल्ने प्रवृत्तिलाई नियन्त्रण गर्न युवाहरू स्वयं अग्रसर भई डस्टबिन स्थापना गरिएको जेनजी युथ अफ बाराका अगुवा सौरभ पाण्डेयले जानकारी दिनुभयो । सार्वजनिक स्थानमा डस्टबिनको अभावका कारण सडक, चौक र सार्वजनिक स्थलहरू फोहोर हुने समस्या समाधान गर्न यो पहल गरिएको बताउनुभयो ।

कार्यक्रमका अगुवा पाण्डेयले कलैयाबासीलाई डस्टबिनको प्रयोग गर्न आग्रह गर्दै भन्नुभयो , “हामीले डस्टबिन राख्नु मात्रै पर्याप्त हुँदैन, यसलाई सबैले सही ढंगले प्रयोग गर्नु जरुरी छ । फोहोर डस्टबिनमै राखौँ र आफ्नो शहरलाई स्वच्छ र सफा बनाऔँ।” उनले सरसफाइ केवल अभियान नभई संस्कार बन्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

त्यस्तै, जेनजी युथ अफ बाराका अर्का अगुवा  संजय चौधरीले यसअघि पनि संस्थाले विभिन्न सामाजिक गतिविधिहरू गर्दै आएको जानकारी दिनुभयो ।  उहाँका अनुसार रक्तदान कार्यक्रम, वृक्षरोपण, सचेतनामूलक र्‍याली तथा विपद्का बेला सहयोग वितरण जस्ता कार्यक्रममार्फत जेनजी युथ अफ बारा युवाहरूलाई सामाजिक उत्तरदायित्वतर्फ उन्मुख गराउँदै आएको छ ।

प्रजातन्त्र दिवस जस्तो राष्ट्रिय पर्वको अवसरमा गरिएको यस सामाजिक अभियानले युवाहरूको सकारात्मक सोच र सक्रियताको उदाहरण प्रस्तुत गरेको छ । जेनजी युथ अफ बाराले आगामी दिनमा पनि स्वच्छता, वातावरण संरक्षण र सामाजिक चेतनामूलक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

Leave a Reply