निजगढ,आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनको लागि बारा क्षेत्र नम्बर १ मा निर्वाचत आयोगले प्रचार प्रशारको लागि तोकेको समय शुरु हुनुभन्दअघि नै उम्मेदवारहरुले चुनाव प्रचार तीव्र पारेका छन ।निर्वाचन आचारसंहित विपरित उम्मेदवारहरुले तीव्र पारेको प्रचारप्रशार कार्यलाई नियन्त्रण गर्न निर्वाचन आयोगले कुनै चासो नदेखाएको पाइएको छ । निर्वाचनमा सहभागी दलका उम्मेदवारहरुले घरदैलो, मतदाता भेटघाट, भेला, सभा र सामाजिक सञ्जालमार्फत आचारसंहिता विपरित चुनाव प्रचारका कार्यक्रमहरु संचालन गरेका हुन । यस क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल कम्युनिष्ट पार्टी र नेपाली काग्रेसका उम्मेदवारहरु सबैभन्दा अगाडि देखिएका छन ।
रास्वपाले डेढ साताअघि देखिनै निजगढ लगायत क्षेत्रका विभिन्न पालिकामा घरदैलो गरेर उम्मेदवार गणेश धिमालको पक्षमा मत माग्दैआएको छ । नेकपा उम्मेदवार सन्तोष दङ्गाल र नेपाली काग्रेसका उम्मेदवार शम्भुबहादुर बुढाथोकी पनि मतदाता भेटघाट र घरदैलोमा व्यस्त छन ।नेकपाका दङ्गाल र नेपाली काग्रेसका बुढाथोकीले हाल निजगढ नगरपालिका क्षेत्रमा मत माग्दै घरदैलो जारी राखेका छन । उनीहरुले आफ्ना कार्यकर्तासहित चुनाव चिन्ह र पार्टीको झण्डा तथा ब्यानर बोकेर घरदैलो गर्दैआएका हुन ।
नेकपा एमालेले पनि आन्तरिक रुपमा चुनाव प्रचार शुरु गरेको छ । एमालेका उम्मेदवार अच्युत मैनालीले भेला, बैठक र भेटघाटलाई तीव्र पारेपनि अन्य दलहरुको जस्तो घरदैलो भने शुरु गर्नुभएको छैन ।एमालेले आज सिम्रौनगढ नगरपालिकामा कार्यकर्ता भेलाको आयोजना गरेको छ । भेलामा एमाले उम्मेदवार मैनाली लगायत नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । त्यसैगरी राप्रपाका उम्मेदवार लक्ष्मी साह पनि बैठक र भेलाहरुमा नै सिमित देखिनुभएको छ ।
उता, सिम्रौनगढ नगरपालिका, आदर्शकोतवाल र बारागढी गाउँपालिकामा राम्रो जनाधार भएको मानिएको जनता समाजवादी पार्टीले पनि मतदाता भेटघाटलाई तीव्र पादैआएको छ । सो पार्टीका उम्मेदवार रामबाबु यादव आफ्नो पकेट क्षेत्रमा कार्यकर्ता भेला, बैठक र घरदैलोमा सक्रिय देखिनुभएको छ ।निर्वाचन आयोगले भने आगामी फागुन ४ गतेबाट मात्रै उम्मेदवारहरुलाई चुनाव प्रचारको लागि समय दिएको छ । सो समयअघि उम्मेदवारहरुले मत माग्ने गरी कुनै पनि प्रकारको चुनावी बैठक, गोष्ठी, सेमिनार वा छलफलहरू गर्न नपाइने आयोगले आचारसंहिता जारी गरेको छ ।
सो आचारसंहिता अनुसार उम्मेदवारहरुले घोषणापत्र, ब्यानर, पोस्टर, पम्पलेट आदि प्रचार सामग्री वितरण गर्न पाउने छैनन । त्यस्तै यो अवधिमा उम्मेदवार वा पार्टीको समर्थन÷विरोधमा कसैले पनि सामाजिक सञ्जाल-अनलाइन-प्रिन्ट-मिडियामार्फत प्रचार सन्देश प्रवाह गर्न नपाउने गरी रोक लगाइएको छ ।


















