निजगढ,निजगढ नगरपालिकामा सम्पन्न कामको भुक्तानी दिने क्रममा कार्यालयका कर्मचारीहरुले घुस रकम लिएको भन्ने घटनाको छानविन गर्न गठन भएको समितिले तयार पारेको प्रतिवेदन नगरपालिकाले सार्वजनिक गर्ने भएको छ ।नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतमले आज एउटा सूचना निकालेर छानबिन समितिले कार्यालयमा प्रतिवेदन पेस गरिसकेको र नगर कार्यपालिकाको बैठकबाट हुने निर्णय बमोजिमको मिति, समय र स्थानमा सरोकारवालाहरु समेतको उपस्थितिमा उक्त प्रतिवेदन सार्वजनिक गरिने जानकारी गराउनुभएको हो ।
सूचनामा कार्यपालिकाको आइतवार दिउँसो २ः०० बजे बस्ने बैठकले प्रतिवेदन सार्वजनिक गर्ने विषयमा आवश्यक निर्णय लिने जनाइएको छ ।नगर कार्यपालिका सदस्य शर्मिला विश्वकर्माले सामाजिक सञ्जाल फेसबुक पेजबाट नगरपालिकाबाट सम्पन्न योजनाको भुक्तानी दिने क्रममा केही कर्मचारीहरुले ठेकेदारहरुसंग रकम माग गरेको भन्ने टिप्पणी सार्वजनिक गरेपछि गत पौष ३० गते बसेको कार्यपालिका बैठकले ४ जना कार्यपालिका सदस्यहरु रहेको ५ सदस्यीय समिति गठन गरी छानबिन कार्य अघि बढाएको थियो । छानबिन समितिलाई घटनाको छानविन गरी सत्यतथ्य पत्ता लगाई राय सुझावसहित १५ (पन्ध्र) दिनभित्र नगरपालिका कार्यालयमा प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको थियो ।


















