निजगढ,निजगढ गरपालिका वडा नम्बर ६ को सडकटोल रहेको श्रीकृष्ण प्राणमी मन्दिरमा आगामी माघ २१ गतेबाट हुने श्रीकृष्ण प्रणामी धर्म महामहोत्सव– २०८२ को उद्धटन नवतनपुरधाम जामनगरका धर्माचार्य श्रीकृष्णमणीजी महाराजले गर्नुहुने भएको छ ।
महोत्सव आयोजक मूल समारोह समितिले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरेर माघ २१ गते महोत्सवको उद्धाटन हुने जानकारी गराएको हो ।मूल समारोह समितिका संयोजक साहित्याचार्य जनार्दन महाराजले महोत्सव उद्धाटनअघि महाराज कृष्णमणीले ताम्रपत्र र कलश अनावरण तथा झण्डोत्तोलन गरेर श्रीकृष्ण प्रणामी मन्दिरको उद्धाटन र मन्दिर परिसरमा धार्मिक विरुवा ‘खिजडा’ रोप्ने कार्यक्रम पनि रहेको जानकारी दिनुभयो ।
महोत्सवमा कृष्णमणीसहित महामंगलपुरीधाम सूरजका सूर्यनारायण दासजी र मंगलपुरीधाम सिक्कीमका श्री ५ भाष्कर महन्तश्री पनि सहभागी हुने मूल समारोह समितिले जानकारी दिएको छ । नेपालको इलाम जिल्लामा जन्मिनुभएका ६२ वर्षिय कृष्णमणीले पन्जाव विश्व विद्यालयकाट संस्कृत साहित्यमा आचार्य गर्नुभएको छ । उहाँले नेपाल, भारतलगायत युरोप र अमेरिकाका विभिन्न देशहरुमा २५८ वटा कृष्णप्रणामी मन्दिर स्थापना गर्नुभएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । उहाँ भारतीय आर्यन समाजको उपाध्यक्ष समेत हुनुहुन्छ ।समितिले दिएको जानकारी अनुसार कृष्णमणीजी महाराज आगामी माघ २० गते निजगढ आइपुग्ने कार्यक्रम छ । वीरगञ्ज नाका हुँदै निजगढ आउनुहुने कृष्णमणीलाई आयोजक समितिको तर्फबाट पथलैयामा स्वागत गरिने र भोलिपल्ट नै सिमरा विमानस्थलबाट बिदाई गर्ने कार्यक्रम रहेको छ । उहाँ सिमराबाट काठमाण्डौं हुँदै दिल्ली फर्किने साहित्याचार्य जनार्दनले जानकारी दिनुभयो ।
श्रीकृष्ण प्रणामी निजानन्द सम्प्रदायका प्रमुख ३ ठूला धाममध्ये भारतमा रहेको नवतनपुर तथा महामंगलपुरी सूरज र मंगलपुरी सिक्कीमधाम सबैभन्दा ठूलो र पवित्र तीर्थ स्थल मानिन्छ । महामहोत्सवअन्तर्गत आज शहीद हिरालाल मार्गमा सरसफाइ कार्यक्रम गरिएको छ ।
त्यसैगरी माघ २० गते निजगढ नगरपालिकाका विभिन्न स्थानमा मोटरसाइकल ¥याली तथा २१ गते महोत्सवको कलश शोभा यात्रा आयोजना गरिने पनि सो अवसरमा जनाइएको छ ।
पत्रकार सम्मेलनमा मूल समारोह समितिका अध्यक्ष यादवकुमार तिमल्सिनाले महामहोत्सवको सुरक्षा तयारी बारेमा जानकारी गराउनुभएको थियो । सो अवसरमा कृपासिन्धु गुरुकुलकी विदुषी उषा घिमिरे र समितिका पदाधिकारी र स्थानीयहरुको पनि उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण समितिका महासचिव प्रकाश सापकोटाले गर्नुभएको थियो ।



















