आरके राजन
सिम्रौनगढ,बाराको सिम्रौनगढ नगरपालिकामा नगरसभा सम्बन्धी देखिएको गम्भीर विवादले स्थानीय शासन प्रणाली नै संकटमा परेको छ ।नगरपालिकामा पछिल्लो समय देखिएको गैरजिम्मेवारी, समन्वयको अभाव र आपसी विरोधाभासका कारण नगरसभा प्रक्रिया नै अन्योलमा परेको हो । गत माघ १५ गते बिहान १० बजे आर्थिक वर्ष २०८२÷८३ को आयव्यय बजेटको सन्दर्भमा दशौँ नगरसभाको दोस्रो बैठक (बन्द सत्र) बस्ने गरी औपचारिक आह्वान गरिएको थियो । तर तोकिएको मिति र समयमा नगरप्रमुख किशोरीप्रसाद कलवार तथा प्रमुख प्रशासकीय अधिकृत कार्यालय समयमा कुनै पूर्वसूचना बिना अनुपस्थित रहेपछि उपप्रमुख नजुम शेयरले बैठक बस्न सकेको जानकारी गराउनुभएको थियो ।

निर्वाचन आचारसंहिता लागू रहेको कारण देखाउँदै बैठक स्थगित गरिएको जनाइए पनि नगर प्रमुख कलवारले सोही दिन साँझ नगर सभा सम्पन्न भएकोभन्दै एकाएक विज्ञप्ति जारी गरेपछि नगरवासी थप अन्योलमा परेको छन ।एकातिर उपप्रमुख शेहरबाट बैठक नबसेको भनाइ सार्वजनिक भइरहेको र अर्कोतर्फ नगर प्रमुख कलवारले दिउँसो ३ बजे जिल्ला प्रशासन कार्यालय बाराबाट सहमति प्राप्त भई साँझ ६ बजेसम्म बैठक बसेको र नगरसभा सम्पन्न भएको घोषणा गर्नुभएको थियो ।

एउटै नगरसभाबारे आधिकारिक व्यक्तिहरुबाट यति गम्भीर रूपमा फरक–फरक दाबी आउनुले बजेट पारित प्रक्रिया, गरिएका निर्णयहरूको कानुनी वैधता र प्रशासनिक पारदर्शितामाथि प्रश्न उठेको छ ।

यस अवस्थाले विकास निर्माण कार्य अवरुद्ध हुने, सेवा प्रवाह ठप्प पर्ने, कर्मचारी अन्योलमा पर्ने र अन्ततः नगरवासी प्रत्यक्ष मारमा पर्ने देखिएको छ ।स्थानीय सरकारभित्र देखिएको यस्तो अराजकता तत्काल समाधान नगरे कानुनी विवाद र सामाजिक असन्तोष चुलिने खतरा बढ्दै गएको स्थानीयवासीहरूको भनाई छ ।

Leave a Reply