पुष्पराज खतिवडा
मनहर्वा,जग्गा बिवादका कारण लामो समयदेखि अलपत्र परेको सिमरा– कोल्हवी सडक खण्डमा पर्ने बालगंगा नदीको पुल संचालनमा आएको छ । बारा क्षेत्र नम्बर ३ का संघीय सांसद रामबाबु यादव र स्थानीय जनप्रतिनिधिको अग्रसरतामा पुल सोमवारबाट संचालनमा ल्याइएको हो ।
सोमवार एक कार्यक्रमका बीच सांसद यादवले रिवन काटेर पुलको उद्धाटन गर्नुभएको हो । कार्यक्रमलाई सांसद यादव, जीतपुरसिराका मेयर राजन पौडेल, उपमेयर भोला अधिकारी लगायतले सम्बोधन गर्नुभएको थियो । पुल संचालनमा आउँदा लाखौं जनतालाई राहत भएको उहाँहरुले बताउनुुभयो ।
दुई वर्षअघि निर्माणको अन्तिम समयमा सखरा हाउजिँग कम्पनी प्रा.लि. बसुन्धरा काठमाडौंले अदालती प्रकृयामार्फत पुल निर्माणमा रोक लगाएको थियो । पुलको करिब ८० प्रतिशत काम सकेर दुवैतर्फ माटो भर्ने कार्य भैरहेका बखत जिल्ला अदालत बाराले पुलको निर्माण कार्य यथास्थितिमै रोक्न अन्तरिम आदेश गरेको थियो । अदालतको आदेशपछि पुलको निर्माण कार्य अलपत्र पर्दै आएको हो ।
पुलको पूर्वपट्टी निर्माणको काम सकेर पश्चिमतर्फ काम गर्दै गर्दा अवरोध भएपछि ठेकेदारले कामछाड्दा पुल निर्माण कार्य रोकिएको थियो । पश्चिमतर्फ माटोपुरी सडक निर्माण ग्रावेल गर्ने काम सांसद यादवको सक्रियता, जीतपुरसिमरा उपमहानगरपालिको सहयोग, स्थानिय जनप्रतिनिधि र स्थानीयको प्रयासमा तत्कालका लागि पुल संचालनमा ल्याइएको हो ।
विवाद निरुपण गर्दै पुल छिटो संचालन गर्न स्थानीयले दवाद दिँदै आएका थिए । पुलको पिलर निर्माण,भुँईमा माथिल्लो ढलान र पश्चिमतर्फ जाली ढुङ्गाको बाँध निर्माण गर्न अझै बाँकी रहेको डिभिजन सडक कार्यालय हेटौंडाका सबईन्जिनियर सत्यन्द्र यादवले बताउनुभयो ।
०७८ चैत्र मसान्तसम्म निर्माण सम्पन्न गरिसक्ने गरी निर्माण भैरहेको पुल आफ्नो जग्गामा बनेको भन्दै डिभिजन सडक कार्यालय हेटौंडाविरुद्ध २०७७ माघ २७ गते सखरा हाउजिँग कम्पनी प्रा.लि.बसुन्धरा काठमाडौंले जिल्ला अदालत बारामा मुद्दा हालेको थियो ।
कम्पनीले साविक डुमरवाना गाविस वडा नम्बर ४ को कित्ता नम्बर ४३४ को १ विगाह र कित्ता नम्बर ४३५ को ३ कठ्ठा जमिन मध्य १ बिगाह १ कठ्ठा जमिनमा पुल बनेको दाबी गरेको छ । कम्पनीका तर्फबाट कलैया उपमहानगरपालिका वडा नम्बर २४ सखुईका रामेश्वरप्रसाद यादवले मुद्दा दर्ता गराएका थिए । उनले प्रति कठ्ठा ११ लाख क्षतिपूर्ति माग दावी गरेका छन् ।