कलैया,बाराको जिल्लाको सुवर्ण गाउँपालिकामा शिक्षा समितिको गठनमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परे पनि कारबाही नभएको आरोप लगाइएको छ ।गाउँपालिका अध्यक्ष राजेशप्रसाद यादवमाथि आफन्तलाई नियुक्त गर्ने, शिक्षक सरुवामा अनियमितता गर्ने र शिक्षा समितिमार्फत कमिशन उठाउनेजस्ता आरोप लगाउँदै स्थानीय भ्रष्टाचार विरोधी अभियन्ताहरूले संसदीय समितिमार्फत निष्पक्ष अनुसन्धानको माग गरेका छन् ।
स्थानीय तहको दोस्रो निर्वाचनपछि निर्वाचित अध्यक्ष यादवले गठन गरेको गाउँ शिक्षा समितिलाई बर्खास्त गरी आफ्ना निकटमा रहेका व्यक्तिहरूलाई गैर कानुनी रूपमा नियुक्त गरेको उजुरीमा उल्लेख छ ।अध्यक्ष यादवले आफ्नै नातामा पर्ने रामनरेशप्रसाद यादवलाई समितिको सदस्य बनाएको र शैक्षिक योग्यता नभएका तथा अयोग्य व्यक्तिहरूलाई नियुक्त गरी अनियमितता गरेको आरोप छ ।
निवेदकहरूले सङ्घीय शिक्षा ऐन–२०२८ को दफा–११ तथा सङ्घीय शिक्षा नियमावली–२०५९ को नियमको उल्लङ्घन गर्दै नियुक्ति गरिएको दाबी गरेका छन् । उनीहरूले सुवर्ण गाउँपालिकाको शिक्षा ऐन–२०७६ को दफा–१५ को उपदफा ११ लाई परिवर्तन गरी दलित समावेशीकरण हटाएर गलत नियतले नियुक्ति गरिएको आरोपसमेत लगाएका छन् ।
निवेदक विनोदप्रसाद यादवसहितका भ्रष्टाचार विरोधी अभियन्ताहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रमा बारम्बार उजुरी गरे पनि अनुसन्धान प्रभावित पारेर फाइललाई थन्क्याइएको आरोप लगाएका छन् ।
फोटो पनि छ ।