कलैया,बाराको परवानीपुरमा आमाछोराको हत्या भएको घटना अनुसन्धानका लागि प्रहरीले मृतक युवककी पत्नी र अर्का एक युवालाई पक्राउ गरेको छ ।परवानीपुर गाउँपालिका– १ रहरीया टोलमा आज बिहान २ बजे अज्ञात व्यक्तिको धारिलो हतियार प्रहारबाट ५२ वर्षीया सुमित्रा देवी र उनका छोरा ३२ वर्षीय रामेश्वर मण्डलको हत्या भएको थियो ।
धारिलो हतियारले आक्रमण हुँदा मृतक महिलाका पति ५० वर्षीय जगरुप मण्डल र छोरी २८ वर्षीया मनितादेवी घाइते भएका छन् । घाइतेमध्ये जगरुपको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बाराका एसपी नरेन्द्र कुँवरले जानकारी दिनुभयो ।प्रहरीले हत्या आरोपमा मृतक रामेश्वरकी श्रीमती २३ वर्षीया मनिता देवी मण्डल र उनका प्रेमी भनिएका जिल्लाकै प्रसौनी गाउँपालिका– ७ बन्जरिया निवासी धमेन्द्र महतोलाई पक्राउ गरेको हो ।

मनिता देवी मण्डलले प्रेमी धमेन्द्रसंग मिलेर श्रीमान् रामेश्वर मण्डल र ४६ वर्षीया सासु सुमिन्त्रा देवीलाई योजना बनाई चक्कु प्रहार गरी हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।घाइतेहरूको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ ।प्रहरीका अनुसार धमेन्द्र महतो वैदेशिक रोजगारको सिलसिलामा दुबईमा कार्यरत रहेका थिए । माघ १२ गते काठमाडौँ आइपुगेपछि उनले मानितासँग मिलेर उक्त घटना घटाएको खुलेको हो । घटनाको मुख्य योजनाकार मानिता देवी मण्डल रहेको बाराका प्रहरी एवम् प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिनुभयो ।घटनापछि प्रहरीले मानितालाई घरबाट र धमेन्द्रलाई वीरगञ्जबाट पक्राउ गरेको हो । हाल दुवै जनालाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक कुँवरले बताउनुभयो ।


















