आर.के.चौधरी
सखुवाप्रसौनी,पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका–२ स्थित सखुवाप्रसौनी स्वास्थ्य चौकीमा एचपिभी खोप सञ्चालन गर्न आज स्वास्थ्यकर्मी तथा शिक्षक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।सखुवाप्रसौनी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय अन्तर्गत स्वास्थ्य शाखाको आयोजनामा सञ्चालन गरिएको उक्त कार्यक्रममा वडा नं. १ देखि ६ सम्मका स्वास्थ्यकर्मी तथा विद्यालयका शिक्षक–शिक्षिकाहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमका प्रशिक्षक स्वास्थ्य शाखा प्रमुख राजेश रौनियारले पाठेघरको मुखको क्यान्सर रोग, यसको कारण, लक्षण तथा रोकथामका उपायबारे जानकारी गराउँदै एचपिभी खोपको परिचय, महत्व, खोप लगाउने सही उमेर र सुरक्षित प्रयोगका विषयमा विस्तृत रूपमा जानकारी गराउनुभएको थियो ।

उहाँले पाठेघरको मुखको क्यान्सर महिलाहरूमा देखिने गम्भीर स्वास्थ्य समस्या भएकाले समयमै एचपिभी खोप लगाउन सकेमा यस रोगबाट बच्न सकिने स्पष्ट पार्नुभएको थियो ।
अभिमुखीकरणपछि स्वास्थ्यकर्मी र शिक्षकहरूले समुदाय तथा विद्यालय तहमा खोपसम्बन्धी सचेतना फैलाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको थियो ।कार्यक्रमले एचपिभी खोप अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सहयोग पुग्ने आयोजकको भनाइ रहेको छ ।

Leave a Reply