मंगलबार उम्मेदवारी दर्ता भएसंगै फागुन २१ गते चुनाव हुने लगभग पक्का नै भइसकेको छ । यो चुनाव सफल बनाउनु अब सबैको कर्तव्य पनि हुन्छ । नहुनु पर्ने चुनाव हुने वातावरण बनेपछि अब विरोध गर्नुको अर्थ छैन । मत त आफ्नो इच्छा हो । यसमा करकाप लाग्ने कुरै छैन ।
अब चुनावको समय नजिकिदै गर्दा यसको उचित वातावरण पनि बनाउनुपर्दछ । सरकारले मात्र चाहेर चुनावको वातावरण बन्दैन । नागरिकहरुको पनि उत्तिकै साथ र सहयोग आवश्यक पर्दछ । यस्तोमा स्थानीय प्रशासनले केही कुरामा सहयोग माग्न सक्छ ।
हुन त चुनावको बेला शान्ति सुरक्षा आवश्यक पर्ने र अरु बेला नचाहिने भन्ने हुदैन । नागरिकहरुका लागि शान्ति सुरक्षा सदैव आवश्यक पर्दछ । जिल्लाका नागरिकहरुको सुरक्षाको जिम्मा यसै पनि प्रशासनको हुन्छ नै तैपनि चुनावको समयमा भने अलि बढी सुरक्षाको ख्याल गर्न आवश्यक नै छ । यसैले होला, बारा र पर्सा प्रशासनले हतियार बुझाउनका लागि भनेको छ । हतियार यसै पनि राम्रो कुरा होइन । त्यो ठीक ठाउँमा यसैपनि चल्दैन ।
त्यसो त हतियारको सवालमा प्रशासनले केहीलाई कानुन अनुसार नै राख्ने अनुमति पनि दिएको हुन्छ । यसको दुरुपयोग यर्स गर्न पाइएन । फेरि भदौमा भएको जेनजी आन्दोलन ताका केही प्रहरीको हतियार पनि खोसिएको छ । यसै हतियार केही थान बाहिर नै रहेको पनि भनिएको छ । यस्तोमा प्रशासनले गरेको अनुरोधलाई सघाउनु पर्दछ र शान्ति कायम गर्न भूूमिका निर्वाह गर्नु पनि पर्दछ । यो सबैको दायित्व हो ।
















