नरेश गुप्ता
बरियारपुर,
कलैया अस्पतालमा बिगत लामो समयदेखि बिग्रिएर त्यसै थन्किएको एक्सरे मेसिन मर्मत नहुदा सेवाग्राहीहरु प्रभावित बनेका छन ।
करिब डेढ वर्ष अगाडि मात्र खरिद गरिएको डिजिटल एक्सरे संचालनमा आए लगत्तै बिग्रिएको हो । लामो समयदेखि बिग्रिएको मेसिन मर्मत गरेर संचालनमा ल्याउन नसक्दा अस्पतालको सेवा प्रभावित बनेको हो । अस्पतालले एक्सरे मेसिन संचालन नगरेपछि सेवाग्राहीहरु चर्को मूल्य तिरेर निजी प्रयोगशालाबाट एक्सरे गर्न बाध्य हुदै आएका छन ।
मर्मत गरेर संचालनमा ल्याउन भनेर लाखौं रुपैया खर्च गरेपनि मेसिन संचालनमा आउन नसकेको हो । मर्मतको लागि बाईयोमेडिकल प्राविधिकहरुबाट पटकपटक गरी लाखौं रुपैया खर्च गरिएको बताइएको छ ।
केही दिनयता फेरि मेसिन मर्मत गर्न भनेर प्राविधिकहरुलाई अस्पतालमा बोलाइएको तर कमिशनको चलखेल सुरु भएपछि मर्मत कार्य फेरि पनि अवरुद्ध बनेको श्रोतले बताएको छ । कलैया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट गौरव महतोले असार १० गतेभित्रमा टेन्डर प्रक्रियाबाट नयाँ एक्सरे मेसिन खरिद गर्ने बताउनुभयो ।
जिल्लामा रहेको एक मात्र सरकारी अस्पतालबाट पर्याप्त सेवा उपलब्ध नभएपछि सर्वसाधारणहरु निजी अस्पतालबाट उपचार गराउन बाध्य हुदै आएका छन ।
फोटो पनि छ।