कलैया,नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवसको अवसर पारेर नेपाल पत्रकार महासंघ बारा शाखाले सोमबार साँझ प्रादेशिक अस्पताल कलैयाका बिरामीहरूलाई फलफूल वितरण गरेको छ ।स्थापना दिवसलाई सामाजिक उत्तरदायित्वसंग जोड्दै महासंघले अस्पतालमा उपचाररत बिरामीलाई स्वास्थ्यलाभको कामनासहित फलफूल वितरण गरेको हो । महासंघका केन्द्रीय सदस्य सिकेन्द्र पासवानको प्रमुख अतिथ्यतामा बिरामीहरुलाई फलफुल वितरण भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै पासवानले नेपालमा लोकतान्त्रिक आन्दोलनको संवाहक र नागरिक अधिकारको पहरेदारका रूपमा महासंघले निर्वाह गरेको बताउनुभयो । नागरिक सर्वोच्चताका लागि महासंघको ऐतिहासिक भूमिकाको स्मरण गर्दै केन्द्रिय सदस्य पासवानले प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारको हकहितका लागि महासंघ सधैं अग्रपङ्क्तिमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै बारा शाखा अध्यक्ष रमेश सुवेदीले समाजको परिवर्तन र लोकतन्त्रको सुदृढीकरणमा पत्रकारहरूको महत्वपूर्ण योगदान रहेको चर्चा गर्दै व्यावसायिक पत्रकारितामा जोड दिनुभयो ।
कार्यक्रममा महासंघका मधेस प्रदेश समिति कोषाध्यक्ष अनिल गौरव, सदस्य साजिर मंसुर, बाराका क्रियाशील पत्रकारहरु रमेश ठाकुर, प्रभु यादव, नरेश गुप्ता, धिरेन्द्र तिवारी, रमेश साह, अरविन्द सिंह, अग्रज पत्रकार एवं नागरिक समाज जिल्ला कार्यसमिति बाराका अध्यक्ष उमेशलाल दाससहित अस्पतालका प्रतिनधि चिकित्सकहरु र जिल्ला कार्यसमितिमा आवद्ध तथा जिल्लाका सक्रिय पत्रकारको उपस्थिति रहेको थियो ।कार्यक्रमको समापनमा शाखा उपाध्यक्ष पन्नालाल दासले सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।बारा शाखा अध्यक्ष सुवेदीको सभापतित्वमा सम्पन्न कार्यक्रम जिल्ला शाखा सचिव पुष्पराज खतिवडाले सञ्चालननमा भएको थियो ।



















