कुमार बानिया

पोखरिया,नेपाल रेडक्रस सोसाइटी पोखरिया उपशाखाको ३६औँ वार्षिक साधारण सभा पर्सा जिल्लाको पोखरिया नगरपालिकास्थित जिल्ला उच्चाङ्ग रामदेव कलवार उच्चमाध्यमिक विद्यालयको सभाहलमा सम्पन्न भएको छ ।साधारण सभामा आर्थिक वर्ष २०८१-०८२ को आय–व्यय विवरण प्रस्तुत गरिएको थियो । उपशाखाका सचिव हिमाञ्चल साहले प्रस्तुत गरेको विवरणअनुसार उक्त आर्थिक वर्षमा कुल १० लाख ९१ हजार २ सय २३ रुपैयाँको आय–व्यय रहेको छ । साथै, आर्थिक वर्ष २०८२÷०८३ का लागि ११ लाख ३८ हजार ८५ रुपैयाँको अनुमानित आय–व्यय बजेट पनि सभामा प्रस्तुत गरिएको थियो ।

कार्यक्रम पोखरिया नगरपालिकाका नगरप्रमुख प्रद्युम्न चौहानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । प्रमुख अतिथि चौहानले सम्बोधन गर्दै नेपाल रेडक्रस सोसाइटी पवित्र संस्था भएको उल्लेख गर्दै पोखरिया उपशाखालाई यसअघि पनि सहयोग गरिएको र आगामी दिनमा पनि निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।उपशाखाले समय–समयमा रक्तदान, सरसफाइ लगायतका विविध सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको प्रशंसा गर्दै नगरप्रमुख चौहानले टाउन प्लानिङ अन्तर्गत उपशाखाको भवन निर्माणका लागि पाँच धुर जग्गा उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

नेपाल रेडक्रस सोसाइटी पर्साका मन्त्री विनोद गिरीले आफ्नो सम्बोधनमा ९ कक्षामा अध्ययनरत हुँदादेखि नै रेडक्रससँग जोडिएको स्मरण गर्दै संस्थाप्रतिको माया र योगदान कहिल्यै नटुट्ने बताउनुभयो। जहाँ रहे पनि पोखरिया उपशाखाप्रति सहयोग र समर्थन जारी रहने उहाँको भनाइ थियो ।त्यसैगरी पोखरिया नगरपालिकाका वडा अध्यक्ष लक्ष्मण साह कानुले पोखरिया उपशाखाको उन्नति र विकासका लागि एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभयो ।

कार्यक्रम पोखरिया रेडक्रस सोसाइटी उपशाखाका सभापति भगवानप्रसाद कुर्मीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा वडा अध्यक्ष लक्ष्मण साह, प्रमोद गिरी, प्रदेशिक अस्पताल पोखरियाका अध्यक्ष उमेश चौहान, डा. वकिल मियाँ, पानालाल पटेल लगायतले साधारण सभाको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।साधारण सभामा सशस्त्र प्रहरी बलका डीएसपी शम्भु कटवाल, ईप्रका पोखरियाका प्रहरी निरीक्षक प्रदीप पौडेल, सह–कोषाध्यक्ष शशिभूषण पटेल, कार्यसमिति सदस्य, आजीवन सदस्य, साधारण सदस्य, सल्लाहकार, सुरक्षाकर्मी, पत्रकार लगायतको उल्लेखनीय सहभागिता रहेको थियो ।

Leave a Reply